प्रहार समाचार । काठमाडौं, २५ असोज २०८२ शनिवार । नेपाली कांग्रेसका युवाहरूले आज केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराउँदै पार्टीलाई युवामैत्री र चलायमान बनाउन जोड दिएका छन्। उनीहरूले आगामी महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।

नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेती लगायतको टोलीले पार्टी अन्योलमा रहेको बताउँदै प्रगतिशील सोच भएका नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताए। उनका अनुसार संगठनलाई खुला, समावेशी र जिम्मेवार बनाउन जेनजीको सहभागिता अनिवार्य छ।
युवाहरूले विधानमा संशोधन गरी सबै तहमा कम्तीमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउने व्यवस्था गर्न, प्रतिबन्धात्मक प्रावधान हटाउन र मनोनित पदहरूमा समेत समावेशिता सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
युवाहरूको माग सकारात्मक रहेको भन्दै उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र सूचना विभाग प्रमुख मीन विश्वकर्माले छलफल गरी आवश्यक पहल हुने बताएका छन्।















