प्रहार समाचार । तनहुँ, २५ असोज २०८२ शनिवार । तनहुँको बन्दीपुर गाउँपालिका–४, बिमलनगरस्थित पृथ्वी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। आँबुखैरेनीबाट डुम्रेतर्फ गइरहेको ग १ ख ९७०८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा धार्चे गाउँपालिका–७ निवासी अन्दाजी २८ वर्षीय स्कुटर चालक पुनराम गुरुङ र सोही स्कुटरमा पछाडि सवार अन्दाजी ३२ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका थिए। दुबै जनालाई तत्काल उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे पठाइएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (CMC) अस्पताल रिफर गरिएको थियो।
अस्पताल स्रोतका अनुसार घाइतेमध्ये स्कुटर चालक पुनराम गुरुङको दिउँसो १:४८ बजे उपचारको क्रममा ज्यान गएको चिकित्सकले पुष्टि गरेका छन्। दुबै जनाको टाउको र खुट्टामा गम्भीर चोट लागेकाले प्रारम्भिक रूपमा नै अवस्था नाजुक रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























