प्रहार समाचार । काठमाडौं, २५ असोज २०८२ शनिवार । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले यस वर्ष भारतबाट आयात हुने प्लास्टिकका फूल र फूलमालामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

महानगरका मेयर बालेन शाहको अगुवाइमा गरिएको यो निर्णयले नेपाली किसानद्वारा उत्पादन गरिएका सयपत्री, मखमली र गोदावरी फूलको बजारमा प्राथमिकता दिने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न यो कदम चालिएको जानकारी दिए।

नेपाली फूललाई उपभोक्तासमक्ष सहज रूपमा उपलब्ध गराउन महानगरले कात्तिक १ देखि ६ गतेसम्मका लागि काठमाडौं उपत्यकाभित्र ३२ स्थानमा फूल बिक्री वितरण केन्द्र तोकेको छ। यी केन्द्रहरू नयाँ बानेश्वर, चाबहिल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, बालुवाटार, अनामनगर, टेवल मन्दिर परिसर, सुन्धारा, न्यूप्लाजा लगायत स्थानमा स्थापना गरिनेछ।

महानगरले तिहारका लागि करिब ४० लाख माला खपत हुने अनुमान गर्दै नेपाली फूल नै बजार धान्न सक्षम भएको दाबी गरेको छ। यसैबीच, विदेशी अवैध फूलको बिक्रीमा कडाइका साथ निगरानी र कारबाही गरिने चेतावनी समेत दिइएको छ। नेपाली फूलको प्रवर्द्धनमार्फत आत्मनिर्भरता र स्थानीय कृषकको आम्दानीमा वृद्धि गर्ने महानगरको यो अभियानले सकारात्मक सन्देश दिएपनि नेपाली फूलले बजारको माग भग्न सक्छ कि सक्दैन भन्नेमा दुविधा भने कायमै रहेको छ ।



























