• बिजय अधिकारी (संवाददाता ) लमजुङ, २५, असोज २०८२ शनिवार । लमजुङको कुन्छामा महिलाहरूले सञ्चालनमा ल्याएको सहकारीले बडादशैंको अवसरमा खसी-बोका बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन्।

सहकारीले यस वर्षको बडा दशैंमा खसी – बोका बेचेर ६३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध ३ सय ६५ जना महिलाहरूले पालनपोषण गरेका खसी–बोका काठमाडौं पुर्याएर बिक्री गरेका थिए। सहकारीकी अध्यक्ष सन्तोषी गौलीका अनुसार काठमाडौंमा तीनपटक खसी–बोका ढुवानी गरेर बिक्री गर्दा सो आम्दानी भएको हो।

सहकारीमार्फत प्रति किलो ५ रुपैयाँ सेवा शुल्क लिइने गरी खसी–बोका बिक्री गरिएको थियो। सहकारीले आफ्नै कृषि एम्बुलेन्स प्रयोग गरी ढुवानी गरेको हो। सचिव सीता कोइरालाका अनुसार गाउँघरमा प्रतिकिलो ५५० रुपैयाँ मूल्य तोकिए पनि सहुलियत मूल्यमा ५०० रुपैयाँमै बिक्री गरिएको थियो। काठमाडौंमा ती खसी–बोका प्रतिकिलो ६३० देखि ७५० रुपैयाँसम्ममा बिक्री भएको सहकारीले जनाएको छ।

२०७२ सालमा स्थापना भएको भागिरथी सहकारीमा महिलाहरूले सञ्चालन गरेका १० वटा बाख्रापालन फार्म छन्। दशैंको समयमा बजारमा बढी मूल्य पाउने देखेर अध्यक्ष गौली आफै नेतृत्व गर्दै खसी–बोका काठमाडौं पुर्याउन सघाएकी थिइन्। उनले भनिन्, “सेयर सदस्यलाई २–४ पैसा बढी आओस् भन्ने सोचले काठमाडौंसम्म खसी–बोका लिएर बिक्री गर्यौं।”




























