
२०५० साल जेठ ३ गते। चितवनको दासढुंगामा भएको एउटा रहस्यमय जीप दुर्घटनाले मुलुकको राजनीति झंकृत बनायो। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको असामयिक र दुःखद निधनले देशभर गहिरो शोक र आक्रोशको लहर चलायो। अनुसन्धान र न्यायको माग गर्दै सडकमा जनसागर ओर्लियो। आन्दोलनको नेतृत्व एमाले, संयुक्त जनमोर्चा (संजमो) लगायत वामपन्थी दलहरूले गरे।
प्रमुख मागहरूमा प्रम गिरिजाप्रसाद कोइरालाको राजीनामा, निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग प्रमुख थिए। तर सरकार टसमस हुने संकेत थिएन।
महिनौंको दबाबपछि अन्ततः भदौ महिनाको कुनै दिन सरकार र आन्दोलनकारीबीच वार्ता तय भयो। हाम्रो तर्फबाट एमाले अध्यक्ष मनमोहन अधिकारी, वयोवृद्ध वाम नेता शम्भुराम श्रेष्ठ र संजमोको अध्यक्षको हैसियतले म स्वयं सहभागी भएँ। सरकारतर्फबाट कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई – किसुनजी – वार्ताका लागि प्रतिनिधि तोकिए।
सानेपास्थित एक निजी घरमा वार्ता भयो। लामो छलफलपछि अन्य बुँदाहरूमा सहमति भए पनि प्रम कोइरालाको राजीनामाबारे कुरा सहमतिमा पुग्न गाह्रो भयो। हामीले हार मानेनौं। अन्ततः किसुनजीले भने,
“लौ त्यो माग पनि तपाईंहरूको पूरा हुन्छ। म जिम्मा लिन्छु।”
हामीले आग्रह गर्यौं —
“मिति तोक्नुपर्छ।”
किसुनजीको जवाफ थियो —
“लौ लौ, भदौ ३० गते! मेरो वचन भयो।”
म अलिक संशयमा परें। किनभने म त्यतिबेला ३९ वर्षको थिएँ — जोशमा थिएँ, तर केही अनुभूतिहरू पनि सँगालेको थिएँ। त्यसैले भनेँ,
“किसुनजी, यसको एउटा लिखत गरौं न त!”
तर किसुनजीको जवाफ आउनुअघि नै मेरा अग्रज मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठले भन्नुभयो —
“किसुनजीजस्तो सन्तनेताले भनेपछि भयो नि! वहाँको वचन नै लिखतभन्दा बलियो हुन्छ।”
त्यो क्षणमा म पनि मुस्कुराएँ, किनभने त्यस्तो आदर्श बोकेको विश्वासमा रमाउन सकिन्छ — यदि त्यो सत्य साबित हुन्छ भने।
तर भदौ ३० आयो। प्रम गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभएन।
बरु ‘सन्तनेता’ किसुनजीले नै भने —
“मैले राजीनामाबारे आश्वासन दिएकै थिइनँ।”
हाम्रो सम्पूर्ण भरोसा र आन्दोलनको मर्म फासफूस भयो।
राजनीतिबाट सिकिने गम्भीर पाठ
यो एउटा सामान्य संस्मरण होइन। यो घटनाले मलाई एउटा अमूल्य राजनीतिक पाठ दियो —
राजनीति धेरै निर्मम हुन्छ।
त्यहाँ निरपेक्ष विश्वासले होइन, शंकासहितको विवेकपूर्ण विश्वासले काम गर्छ।
आज हामीले नयाँ पुस्ता — विशेषतः जेन-जी अगुवा र विद्रोहीहरू — जसले परिवर्तनको ध्वजा बोकिरहेका छन्, तिनीहरूलाई आग्रह गर्नुपर्ने समय हो: राजनीतिमा भावना होइन, विवेक चाहिन्छ। आदर्शहरूप्रति निष्ठा राखौं, तर व्यवहारमा आँखा चिम्लेर विश्वास नगरौं।
सच्चा परिवर्तन त्यहीँबाट सुरू हुन्छ।
- १३ असोज २०८२ सोमवार । हामीले यो बिचार डा. भट्टराईको सामाजिक संञ्जाल प्रेसबुकबाट सम्पादन गरेर लिएका हौँ । (सम्पादक )
























