आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

डोजर त्रासबीच आँबुखैरेनीका अध्यक्ष चुमानको आश्वासन: ‘कसैको बास खोसिँदैन’ !

प्रहार समाचार । तनहुँ, २० बैशाख २०८३ आइतबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लक्षित गर्दै कसैको बास खोस्ने जस्तो अमानवीय कार्य नगर्ने स्पष्ट पारेका छन्। पछिल्लो समय “डोजर चल्ने” हल्लाले त्रास फैलिएका बेला उनले वैज्ञानिक र न्यायोचित व्यवस्थापनमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।

अध्यक्ष चुमानका अनुसार गाउँपालिका क्षेत्रभित्र १ सय ५० जना भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित प्रमाणित भइसकेका छन् भने करिब २० वर्षदेखि बसोबास गर्दै आएका तर लालपुर्जा नभएका झण्डै १ हजार १ सय अव्यवस्थित बसोबासीले निस्सा प्राप्त गरिसकेका छन्। यद्यपि, सबैलाई तत्काल पुर्जा वितरण सम्भव नभएको उनले बताए। करिब २० जना भूमिहीनसँग बसोबास गर्ने जमिन नै नभएको र केहीको बसेको जमिन “नकारात्मक सूची” मा परेकाले कानुनी जटिलता देखिएको छ। यसबीच नापी, निस्सा र प्रमाणीकरण प्रक्रिया पूरा गरी १३ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको भन्दै उनले यस कार्यमा तनहुँमै आँबुखैरेनी अग्रस्थानमा रहेको दाबी गरे। भूमि व्यवस्थापनका लागि नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष चुमानले संघीय सरकारसँग पनि आग्रह गरेका छन्। भूमि ऐनका केही धाराहरू संशोधन गरी अध्यादेशमार्फत स्थानीय तहलाई पुर्जा वितरणको अधिकार दिइए समस्या छिट्टै समाधान गर्न सकिने उनको भनाइ छ।

उनले भूमिहीनलाई जमिन उपलब्ध गराउने र उपयुक्त अवस्थामा रहेका अव्यवस्थित बसोबासीलाई राजस्वसहित पुर्जा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। साथै, सार्वजनिक तथा मापदण्डभित्र पर्ने जमिनको संरक्षण गर्दै अवैध अतिक्रमण हटाउने नीति आवश्यक रहेको उनले बताए। “कसैको बास खोस्ने होइन, व्यवस्थित गर्ने हो,” उनले भने, “हामी न्यायोचित र दीगो समाधानतर्फ अघि बढेका छौं।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button