हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरू आवाज बुलन्द पार्दै

प्रहार समाचार । तनहुँ, २० वैशाख २०८३ आइतबार । आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले दमौलीमा प्रभातफेरी निकाल्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका छन्। व्यास नगरपालिका–३ स्थित अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भाग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीले चुनौतीपूर्ण परिस्थितिका बीच पनि नेपाली प्रेसले जनताको पक्षमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सत्य र तथ्यमा आधारित पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने धारणा राखे।

महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पछिल्लो समय सञ्चारमाध्यममाथि विभिन्न प्रकारका दबाब र नियन्त्रणका प्रयास बढ्दै गएको आरोप लगाए। उनले सरकारकै तर्फबाट सञ्चार क्षेत्रमा ‘सिन्डिकेट’ लगाउने प्रयास भइरहेको भन्दै यसले प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्न सक्ने चेतावनी दिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, पूर्व उपाध्यक्ष शंकरराज नहर्की तथा सल्लाहकार नारायण खड्कालगायत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको संरक्षणका लागि एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button