हेडलाईनसमाचारप्रदेश

ओलीसहित ५ जनाको पासपोर्ट रोक्का : भूषण राणाको घरमा छापा

प्रदार समाचार । काठमाडौं, १३ असोज २०८२ सोमवार । जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजालको पासपोर्ट रोक्का गरिएको छ। आयोगमा कुनै पनि बेला उपस्थित गराउनुपर्ने भएकाले उनीहरूलाई उपत्यका बाहिर जान पनि रोक लगाइएको हो।

त्यसैगरी, कांग्रेस नेतृ आरजु राणा देउवाका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अर्बौंको ठेक्कापट्टामा संलग्नता र अवैध सम्पत्ति आर्जनको आशंकामा उपकरण र कागजात नियन्त्रणमा लिइएको विभागले जनाएको छ। राणा हाल विदेशमा छन्।

जेन–जी विद्रोहका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजुको घरमा आगजनी हुँदा जलेका नोट फेला परेको थियो। उक्त घटनासँग जोडिएर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता दीपक खड्काको निवासबाट पनि मुचुल्का उठाइएको छ। संकलित प्रमाण परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button