प्रहार समाचार । काठमाडौँ , १३ असोज २०८२ सोमवार । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शुभ साइतमा भित्र्याएर विधिपूर्वक पूजा आराधना हुँदैछ। घटस्थापनाबाट सुरु भएर दुर्गापूजाको महत्त्वपूर्ण अंश मानिने फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला लगायत नौवटा सामाग्री नववटी देवीको प्रतीकका रूपमा प्रयोग गरिन्छ ।

हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने परम्परा गोरखाबाट सुरु भएर धादिङ, जमल हुँदै यहाँसम्म ल्याउने गरिन्छ। गोरखाका मगर जातिका सदस्यहरू र काठमाडौँका ब्राह्मणहरूले क्रमशः फूलपाती बोक्ने परम्परा छ। फूलपाती भित्र्याउन सांस्कृतिक नाचगान, ब्याण्डबाजा र लावालस्कर पनि रहने गर्दछ। राजतन्त्रकालमा राजा सहभागी हुने गर्थे भने अहिले संस्कृति मन्त्री कार्यक्रममा सहभागी हुँदै आएका छन्।
यस वर्ष फूलपाती सोमबार साँढे चार बजे भित्र्याइने छ। फूलपाती भित्र्याएपछि दशैँ पर्वको सामाजिक चहलपहल अझै बढ्ने गर्दछ। घटस्थापनाबाट सुरु भएको दशैँको पर्व आजदेखि पूर्ण रूपमा विधिवत रूपमा मनाउन थालिएको छ।
























