प्रहार समाचार । काठमाडौँ, १० असोज २०८२ शुक्रवार । सरकारले सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रभावकारी उपयोग गर्दै अर्थ मन्त्रालयमा ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’ (GIOMS) अनिवार्य रूपमा लागू गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले विद्युतीय फाइल स्वीकृत गर्दै यस प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्। सूचना प्रविधि विभागद्वारा विकास गरिएको GIOMS अब सरकारी निर्णय, पत्राचार, हाजिरी, बिदा तथा अभिलेख व्यवस्थापन जस्ता कार्यहरू डिजिटल हस्ताक्षरसहित विद्युतीय रूपमा हुनेछन्।
प्रणाली कार्यान्वयनसँगै अर्थ मन्त्रालयको आन्तरिक कार्यप्रणालीमा कागजरहित अभ्यास थालिएको छ, जसले सेवामा गति र विश्वसनीयता थप्ने अपेक्षा गरिएको छ। यसबाट निर्णय प्रक्रिया छरितो मात्र होइन, बजेटको बचत, कामको पारदर्शिता र सरकारी जवाफदेहीता समेत सुनिश्चित हुने सरकारको दाबी छ।
‘डिजिटल नेपाल’ अभियानसँग जोडिएको यो कदमले सरकारी निकायहरूमा सूचना प्रविधिको प्रयोगलाई संस्थागत गर्दै प्रशासकीय सुधारको उदाहरण प्रस्तुत गरेको छ। अबको लक्ष्य भनेको GIOMS प्रणालीलाई अन्य मन्त्रालय र निकायसम्म विस्तार गर्दै समग्र प्रशासनिक प्रणालीलाई एकीकृत र स्मार्ट बनाउनु हो।


























