प्रहार समाचार । काठमाडौँ, ९ असोज २०८२ बुधवार । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिंजो मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आज बसेको आयोग बैठकले उक्त निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदाता नाममा नाम दर्ता गराउन सक्नेछन्। अध्यादेशपछि निर्वाचन मिति तोकिएपछिसमेत मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था मिलेको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मा दिइएको छ। अध्यादेशले नयाँ मतदातालाई सहभागी गराउने मार्ग खुला गरेको आयोगको भनाइ छ।



























