प्रहार समाचार । काठमाडौँ, १५ भदौ २०८२ आइतवार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा आज दर्ता भएको छ। कानूनका विद्यार्थी आयुष दाहालले सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठद्वारा गरिएको एक पोस्टले न्यायालयप्रति गम्भीर अविश्वास र अनास्था फैलाएको दाबी गर्दै मुद्दा पेस गरेका हुन्। मुद्दा २०८२ भदौ १९ गते सुनुवाइका लागि तोकिएको छ।

श्रेष्ठले ‘घुस र भनसुन बिना अदालतबाट न्याय पाउन सकिन्न’ भन्ने अभिव्यक्तिद्वारा सम्पूर्ण न्यायालय र न्यायाधीशहरूलाई प्रश्नको घेरामा ल्याएको आरोप छ। उनको भनाइ अदालतको मर्यादा, निष्पक्षता र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको भन्दै संविधान, प्रचलित कानून तथा न्याय प्रशासन ऐनको उल्लंघन भएको जनाइएको छ।
दर्ता भएको मुद्दामा श्रेष्ठलाई सशरीर उपस्थित गराई स्पष्टीकरण लिनुका साथै उक्त अभिव्यक्ति हटाउने आदेश माग गरिएको छ। दोषी ठहरिए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ।
























