प्रहार समाचार । तनहुँ, १५ भदौ २०८२ आइतवार । तनहुँको व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालय र पाटन जेष्ठ नागरिक गुरुकुल आश्रममा संयुक्त रूपमा ५ लाख ४ हजार ८४ को ‘आदित्य राना पौडेल स्मृति छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ। अल्प आयुमा सडक दुर्घटनामा परी निधन भएका आदित्य रानाको स्मृतिमा उनका हजुरबुबा हेम पौडेल, हजुरआमा उषा क्षेत्री, बुबा इन्द्र राना, आमा विद्या पौडेल र सानिआमा बिजु पौडेलको तर्फबाट उक्त कोष स्थापना गरिएको हो । तस्बिरहरु : प्रहार अनलाईन मिडिया

अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आदित्यको स्मृतिमा अक्षयकोष स्थापनाले उनको सम्झना र सम्मानलाई चिर स्थायी बनाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाले विद्यालयका एक होनाहार विद्यार्थी आदित्य रहेको चर्चा गर्दै शोकलाई शक्तिमा परिवर्तन गरेर उनको स्मृतिमा अक्षयकोष स्थापना गर्नु उदाहरणीय कार्य रहेको बताए ।

त्यस अवसरमा विद्यालयलाई ४ लाख ४ हजार ८४ र गुरुकुल आश्रमलाई १ लाख १ हजार ८२ को चेक परिवारको तर्फबाट अक्षय कोष स्थापनाकर्ता विद्यालयका संस्थापक प्रधानाध्यापकसमेत रहेका हेम पौडेलले विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापालाई संयुक्त रूपमा हस्तान्तान गरेका थिए ।

कोषबाट प्राप्त ब्याजमार्फत प्रत्येक वर्ष ‘आदित्य राना स्मृति कप’ नामक अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गरिने छ भने कक्षा १० का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ। यस्तै, यस अक्षयकोष स्थापनाबाट गुरुकुल आश्रममा अध्ययनरत विद्यार्थीहरू समेत लाभान्वित हुने भएका छन्। । कार्यक्रम आदित्य रानाको ४५ औँ तिथिमा गरिएको हो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक अभिभावक संघ, टोल विकास संस्था, सामुदायिक वन, मगर समाज, पूर्व विद्यार्थी मञ्चका सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक अनिता काफ्लेले गरेकी थिइन्।
























