हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज गाईजात्रा : शोकलाई उत्सवमा बदल्ने ऐतिहासिक र सांस्कृतिक पर्व

प्रहार समाचार । तनहुँ, २५ साउन २०८२ आइतवार । देशभर आज नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा गाईजात्रा पर्व विभिन्न कार्यक्रमहान गरेर उत्साहपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा ‘ मध्यकालीन नेवारी संस्कृतिबाट प्रारम्भ भएको मानिन्छ । मल्लकालमा राजधानी काठमाडौंमा व्यापक रूपमा प्रचलनमा आएको यो पर्वलाई राजा प्रताप मल्लले देशव्यापी महत्त्व दिलाएको ऐतिहासिक तथ्य भेटिन्छ। मृतकको सम्झनामा निकालिने गाईजात्राले परिवार र समाजलाई मृत्युपछि पनि जीवनको यात्रा अविरल रहने सन्देश दिन्छ।

धार्मिक दृष्टिले गाईजात्रा मृतात्माको मोक्ष र परिवारको सान्त्वनासँग सम्बन्धित छ। आफन्त गुमाएका परिवारले गाई वा गाईको रूप धारण गरेका बालबालिकासहितको जुलुस निकालेर शहर–बजार परिक्रमा गराउने चलन रहिआएको छ। यसरी गाईलाई पवित्र दूतको रूपमा सम्मान दिँदै मृतात्मालाई सुरक्षित पार लगाउने प्रतीकात्मक विश्वास कायम छ।

ऐतिहासिक रूपमा, राजा प्रताप मल्लका एक छोरा असामयिक निधन भएपछि रानी गहिरो शोकमा डुबिन्। रानीलाई केवल आफ्नो मात्र होइन, शहरमा प्रत्येक वर्ष थुप्रै परिवारहरूले यस्तै पीडा भोग्ने कुरा देखाउन र सान्त्वना दिन राजाले अनौठो पहल गरे। उनले सो वर्षभित्र निधन भएका जो कोहीको परिवारलाई गाईजात्रा निकाल्न आदेश दिए। दरबार अगाडि विभिन्न परिवारका जुलुस देख्दा रानीले आफ्ना पीडालाई सामूहिक पीडाको रूपमा बुझेकी थिइन्। यही घटनाले गाईजात्रालाई संस्थागत रूपमा स्थापित गर्यो।

इतिहासविद् डा. कृष्णमान शाक्यका अनुसार, “गाईजात्रा केवल नेवार समुदायको पर्व मात्र होइन, यो नेपाली समाजको साझा सांस्कृतिक सम्पदा हो। राजा प्रताप मल्लले आफ्नी रानीको शोक कम गर्न गरेको पहलले यसलाई संस्थागत स्वरूप दिएको हो। मृत्युलाई जीवनको चक्रको अटूट अङ्गका रूपमा स्वीकार गराउन यस पर्वको ठूलो भूमिका छ।”

समयक्रममा गाईजात्राले सामाजिक आलोचना र हास्य–व्यङ्ग्यको स्वरूप पायो। समाजका विकृति, राजनीतिक विसंगति र मानवीय कमजोरीलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्दै यस पर्वले अभिव्यक्ति स्वतन्त्रताको अद्वितीय मंच प्रदान गरेको छ। हास्य र व्यङ्ग्यमार्फत शोकलाई हल्का पार्ने, भय हटाउने र आपसी सद्भाव बढाउने यसको मूल सार अझै प्रासंगिक छ।

आजको गाईजात्रा केवल संस्कारको निरन्तरता मात्र नभई मृत्युलाई जीवनको अटूट सत्यको रूपमा स्वीकार्दै, शोकलाई सृजनात्मक उत्सवमा बदल्ने सन्देश दिन्छ। आज राजधानी काठमाडौँ सहित तनहुँको सदरमुकाम दमौली , पुरानो सदरमुकाम बन्दीपुर, भिमाद लगायतका बजारमा साँझ गाइजात्रा निकालिन्छ । देशका यसले समाजलाई दृढ मानसिकता, धार्मिक आस्था र ऐतिहासिक चेतनासँगै भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button