प्रहार समाचार । तनहुँ, २४ साउन २०८२ शनिवार । लामो समयदेखि नेतृत्वविहीन अवस्थामा अल्झिएको तनहुँको देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पद अन्ततः चितवन बस्ने डा. इश्वरी राज लौडारीको हातमा पुगेपछि तनहुँका आकाङ्क्षी नेताहरु ‘हेरेको हेरै’ भएका छन्।

समितिको नेतृत्व आफ्नो जिल्लाले पाउनुपर्ने भन्दै काँग्रेस, एमालेसहितका स्थानीय प्रभावशाली नेताहरुले रस्साकस्सी गरे पनि अन्ततः आन्तरिक गुटबन्दी, आपसी अविश्वास र एकताको अभावले अवसर चितवनका नेताले बटुलेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँका, मन्त्री प्रदिप पौडेल, मन्त्री भगवती न्यौपाने, नेता शंकर भण्डारी तनहुँकै हुँदाहुँदै पनि तनहुँले आफ्नै जिल्लाको नेतृत्व सुरक्षित गर्न नसक्नु, यहाँको राजनीतिक कमजोर समन्वयको स्पष्ट प्रमाण भएको राजनीतिक विश्लेषकहरु बताउँछन्। विभिन्न भेटवार्ता र दबाबका प्रयास असफल भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत चितवनका लौडारीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
शैक्षिक क्षेत्रमा अनुभव राख्ने लौडारी नेपाली कांग्रेस चितवनका नेता हुन् र उनले भरतपुरस्थित बिरेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गरिसकेका छन्। सदस्यतर्फ तनहुँबाट रामहरि पुडासैनी र इन्द्रमाया थापा मगर, चितवनबाट चन्द्रमित्र पण्डित र लक्ष्मण सुवेदी, नवलपुरबाट सालिकराम सापकोटा र यू कुमारी शर्मा नियुक्त भएका छन्। अध्यक्ष चयनमा महिनौंसम्म टुंगो नलाग्ने अवस्थालाई अन्त्य गरे पनि, यस निर्णयले तनहुँको राजनीतिक नेतृत्वमा गहिरो असन्तोष र आत्ममन्थनको आवश्यकतालाई उजागर गरेको छ ।

र
छ

























