हेडलाईनसमाचारप्रदेश

दरबार हत्याकाण्डको २४ वर्ष: रहस्य अझै उस्तै, जनताको प्रश्न अझै ज्यूँका त्यूँ


प्रहार समाचार । काठमाडौँ, १९ जेठ २०८२ सोमवार । राजा वीरेन्द्र सहित परिवारको वंशनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्ड आज २४ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति भएको उक्त भीषण हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत दशजनाको ज्यान गएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए।

दुई दशकभन्दा बढी समय बितिसक्दा पनि घटनाको रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन। तत्कालीन राजा वीरेन्द्र, जसलाई शान्तिप्रिय, जनतामैत्री र सन्तुलित शासक मानिन्थ्यो, राजा सहितको वंशको हत्या एकै रातमा भएको घटनाले नेपाली समाजमा गहिरो चोट पुर्‍याएको थियो। पूर्वराजा वीरेन्द्रको सालिकमा आज जावलाखेलमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ, जसमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले माल्यार्पण गरी दिवंगतहरूलाई सम्झना गर्ने भएको छ। यसै गरि राजा बादिहरुले पनि वीरेन्द्रको सालिकमा माल्यारपर्ण गर्ने भएका छन्।

घटनापछि गठित दुई सदस्यीय छानबिन समितिले युवराज दीपेन्द्रले परिवारजनको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकाले पनि जनताले उक्त प्रतिवेदनलाई कहिल्यै स्वीकार गरेनन्। समितिमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट थिए। रिपोर्ट आएको दुई दशक बितिसक्दा पनि त्यसको पारदर्शिता, वैधानिकता र निष्पक्षतामाथि अझै प्रश्न उठिरहेका छन्।

गणतन्त्रात्मक व्यवस्था स्थापना भइसकेपछिका विभिन्न सरकारले पनि हत्याकाण्डको पुनःछानबिनमा कुनै चासो देखाएनन्। रहस्य अझै अन्धकारमै छ, षडयन्त्रको आशंका झन् गहिरिँदै गएको छ। दरबार हत्याकाण्ड नेपालको इतिहासमा मात्र होइन, विश्वकै राजनीतिक घटनाक्रममा रहस्यमय हत्याको एक ज्वलन्त उदाहरणका रूपमा आज पनि जीवित छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button