प्रहार समाचार । काठमाडौँ, १९ जेठ २०८२ सोमवार । आज गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भूभागमा आज दिउँसो र राति पनि यस्तै प्रकारको वर्षा हुने सम्भावना छ।

महाशाखाले आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक/दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने जनाइएको छ।
आज रातिसमेत कोशी र गण्डकीका पहाडी भूभागका थोरै स्थानहरू र अन्य भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा पनि राति हल्का वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। कोशी प्रदेशमा भने अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव सक्रिय भएको मौसम विभागले जनाएको छ। यसै सन्दर्भमा सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको थियो। मनसुन भित्रिएसँगै भएको भारी वर्षाले सडक, जलविद्युत् र अन्य संरचनामा क्षति पुर्याएको थियो। विभागका अनुसार अब मनसुन क्रमशः पश्चिमतर्फ सर्दै जानेछ।


























