प्रहार समाचार । काठमाडौँ, १८ जेठ २०८२ आइतवार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने प्रयास गर्दा एक पत्रकार कुटपिटमा परेका छन्। वाईसीएल को कार्यक्रममा रिपोर्टिङका लागि पुगेका एनपीएल प्रेसका सञ्चालक तथा पत्रकार सुरजमाथि माओवादी कार्यकर्ता समूहले शारीरिक आक्रमण गरेका हुन्।

घटनास्थल काठमाडौंको प्रज्ञा भवन हो, जहाँ वाईसीएलको कार्यक्रम चलिरहेको थियो। कार्यक्रम स्थलमा प्रचण्ड आउने बेला सुरजले प्रश्न सोध्न खोजेपछि पूर्वप्रधानमन्त्री दाहालले आक्रोशित हुँदै प्रतिक्रिया दिए। “प्रचण्डजी गाडीबाट झर्दै थिए, मैले सामान्यरूपमा प्रश्न सोध्ने प्रयास गरेँ,” सुरजले भने, “तर उहाँले रिसाउँदै भन्नुभयो— ‘यो प्रश्न सोध्ने टाइम हो?’ अनि त्यसको केही सेकेन्डमै वाईसीएलका कार्यकर्ताहरु ममाथि जाइलागे।”
पत्रकार सुरजका अनुसार झण्डै २०–२५ जनाको समूहले उनलाई झ्यापझुप पारेर एक कोठाभित्र लगेर कुटपिट गरेका थिए। “कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात हाने,” सुरज भन्छन्, “मोबाइल फोन समेत खोसेर अहिलेसम्म फिर्ता दिएका छैनन्।”
प्रश्न सोधेकै कारण दुई दिनभित्र दुई जना व्यक्ति माओवादी कार्यकर्ताबाट कुटिएको यो दोस्रो घटना हो। यसअघि नुवाकोटमा आयोजित विद्यालय कार्यक्रममा प्रचण्डमाथि प्रश्न उठाउन खोज्ने एक राजावादी युवकमाथि पनि माओवादी कार्यकर्ताले हातपात गरेका थिए।
घटनापछि प्रेस स्वतन्त्रताको सन्दर्भमा सुरक्षा, जवाफदेहिता र नेतृत्व तहको सहिष्णुता सम्बन्धी प्रश्न उठ्न थालेका छन्। अहिलेसम्म माओवादी केन्द्र वा वाईसीएलको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।


























