प्रहार संवाददाता । तनहुँ, १८ जेठ २०८२ आइतवार । गण्डकी प्रदेश सरकारले ल्याएको राईड सेयरिङ्ग नियमावली २०८२ विरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू सोमबारदेखि आन्दोलनमा उत्रिने भएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ का नाममा चारवटा यातायात महासंघ र चारवटा मजदुर संघसहितका संगठनहरूले संयुक्त रूपमा सार्वजनिक सवारी साधन चलाउने बन्द गर्ने निर्णय गरेका छन्। जस्काकारण जनजिवन झन कष्टकर बन्ने भएको छ।

व्यवसायीहरूले नियमावली संविधानको धारा ५७ को उपधारा ६, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र १२(१) विपरीत रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका १० वर्ष पुराना दुईपाङ्ग्रे र १५ वर्ष पुराना चारपाङ्ग्रे सवारीलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी प्रदेश सरकारले नियमावली ल्याएको छ, जसले कानुनविपरीत व्यवसाय सञ्चालन गर्नेलाई कानुनी संरक्षण दिन खोजिएको छ।

सरकारलाई सात बुँदे ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता भएपछि आफूहरू बाध्य भएर गाडीहरू ग्यारेजमै थन्काएर आन्दोलनमा उत्रिएको संघर्ष समितिको भनाइ छ। आन्दोलनबाट पर्न सक्ने सम्पूर्ण असरको जिम्मेवारी नेपाल सरकारलाई हुने विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।



























