प्रहार समाचार । काठमाडौँ, १८ जेठ २०८२ आइतवार । राजसंस्था पुनःस्थापनाको माग गर्दै भइरहेको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन्। काठमाडौंको नारायण चौरमा निषेधित क्षेत्र तोड्न खोजेपछि थापालाई दुबै हात र दुबै खुट्टामा समातेर झ्याईकुटी पारेर प्रहरीले भ्यानमा हालेको थियो । राजावादी समूहका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाने तयारीमा थिए ।

राजसंस्था समर्थकहरूले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन जारी राखिरहेका छन्। शनिबार दरबारमार्ग क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रदर्शनकारी रत्नपार्क हुँदै बालुवाटारतर्फ अघि बढेका थिए। आज नारायण चौरमा भेला भएका उनीहरूले प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गर्यो। सो क्रममा केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल समेत भएको थियो।
यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष थापाको पक्राउको विरोध जनाउँदै तुरुन्त रिहाइको माग गरेका छन्। उनले सोमबारदेखि राजसंस्थाको पक्षमा “खास लडाइँ” सुरू हुने चेतावनीसमेत दिएका छन्। राजावादी आन्दोलनले राजनीतिक तातो माहोल बनाइरहेका बेला थापाको पक्राउले थप तनाव सिर्जना गरेको छ। तस्बिर : लोकान्तर


























