गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेपछि यसको विरोधमा यातायात व्यवसायीले गत शुक्रवारबाट यातायात बन्द गरेका छन्। जस्को प्रभाव सिङ्गो गण्डकी प्रदेशभरि नै परेको छ। जस्का कारण हजारौं जनता मारमा परेका छन्। यसै प्रसङ्गमा तनहुँका यूवा अभियान्ता अबिनाश पन्थले व्यास भूमि यातायात प्रा. लि. तनहुँलाई खुल्ला पत्र लेख्दै भन्छन् – ‘कम्तिमा विद्यार्थीहरूका लागि बिहान र बेलुका केही गाडीहरू सञ्चालनमा ल्याउने व्यवस्था गरिदिनुहोस्। रोटेसन प्रणाली वा पास प्रणालीजस्ता विकल्पमार्फत विद्यार्थीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रयास गर्नुहोस् ।’

‘तपाईहरुले सुरु गरेको आन्दोलन न्यायोचित छ। यातायात व्यवसायीहरूको समस्याप्रति हामीलाई गहिरो सहानुभूति छ, र हामी सधैं न्यायका पक्षमा उभिदै आएका छौं। यो देशमा आफ्नो हक र अधिकारका लागि आवाज उठाउनु सबै नागरिकको अधिकार हो, र हजुरहरूको साहसिक कदमप्रति हामी सम्मान प्रकट गर्छौं।
तर, आन्दोलनका कारण सर्वसाधारण जनतामाथि परेको असर गम्भीर बन्दै गएको छ। विशेष गरी विद्यार्थीहरू र बिरामीहरू अत्यन्त कठिन अवस्थामा परेका छन्। हामीले देखेका छौं-केही सहयोगी महानुभावहरूले बिरामीलाई ओसारपसारमा साथ दिनुभएको छ, जुन कार्य सराहनीय मात्र होइन, मानवीयताको ज्वलन्त उदाहरण पनि हो। त्यसका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
यद्यपि, विद्यार्थीहरू अझै पनि निकै ठूलो समस्यामा परिरहेका छन्। बिहान स्कुल जान, परीक्षा दिन वा कोचिङ क्लास पुग्न नसक्दा उनीहरू मानसिक तनावमा छन्। विद्यार्थीहरूलाई दुई पाङ्ग्रे सवारीले ल्याउनु लैजानु सम्भव हुँदैन, र यस्तो स्थिति भविष्य निर्माण गरिरहेका बालबालिकाका लागि दुर्भाग्यपूर्ण मात्र होइन, अन्यायपूर्ण पनि हो।
त्यसैले म विनम्र अनुरोध गर्न चाहन्छु कम्तीमा विद्यार्थीहरूका लागि बिहान र बेलुका केही गाडीहरू सञ्चालनमा ल्याउने व्यवस्था गरिदिनुहोस्। रोटेसन प्रणाली वा पास प्रणालीजस्ता विकल्पमार्फत विद्यार्थीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रयास गर्नुहोस्। यसो गर्नु मानवता र उत्तरदायित्वको प्रतीक त हुनेछ नै, दीर्घकालीन रूपमा पनि सकारात्मक प्रभाव पार्नेछ।
म विश्वास गर्छु-हजुरहरूले ती विद्यार्थीहरूलाई आफ्नै सन्तान सरह सम्झेर सहानुभूति देखाउनुहुनेछ, र एक सकारात्मक निर्णय लिनुहुनेछ। मात्र यति भन्नुहोस् -“विद्यार्थीको लागि गाडी चलाउँछौं हामी अझ मजबूतीका साथ हजुरहरूको आन्दोलनमा साथ दिनेछौं।
न्यायको पक्षमा हाम्रो साथ सधैं रहनेछ तर विरामी , सुत्केरी, असहाय लगायतको संवेदनशिलतालाई भने अवस्थ सम्बोधन गर्नु व हाम्रो साझा जिम्मेवारी हो ।’


























