• सुशिल बि. क. (प्रहार संवाददाता) तनहुँ, १८ जेठ २०८२ आइतवार । नेपालमा इन्टरनेटको पहुँचसँगै साइबर ठगीका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। कतै तपाईहरु मध्ये कोहि यस ठगिको शिकार त बन्नु परेको छैन ? होस् पुऱ्याउनुहोस् ! अब ठगीका शैलीहरू पनि परम्परागतभन्दा परिष्कृत बनेका छन् । तस्बिर: artificial

विशेषगरी, पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरेर हुने ठगीका घटना तीव्र रूपमा बढेका छन्। डीपफेक भिडियो, नक्कली आवाज र फेक प्रोफाइलहरू तयारगरी मानिसलाई भ्रममा पारेर आर्थिक लाभ उठाउने प्रयास व्यापक भइरहेको छ ।
डीपफेकको जालोमा विश्वासको चोरी :
सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको अनुहार र स्वरको नक्कल गरेर बनाइएका भिडियोहरू प्रयोग गरी फेक सन्देश फैलाउने, बैंक वा अन्य संस्थाका प्रतिनिधिको झुटो परिचय दिँदै रकम माग्ने घटनाहरू तीव्र भएका छन्। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पछिल्लो समयमा यस्ता प्रविधिमार्फत ठगी गर्ने प्रयासका उजुरी उल्लेख्य रूपमा बढेका छन्। ठगहरू विश्वास जितेर विभिन्न बहानामा रकम झिक्ने रणनीति अपनाइरहेका छन्।
प्रविधि जति विकसित, सुरक्षा त्यति चुनौतीपूर्ण :
साइबर विज्ञ डा. सञ्जय गौतम भन्छन्, “एआईले जीवन सजिलो बनाएको छ, तर यसको गलत प्रयोगले ठूलो क्षति पुर्याउन सक्छ।” उनका अनुसार, अहिलेको समस्या के हो भने नक्कली र वास्तविक सामग्री छुट्याउन सर्वसाधारणलाई कठिन भइरहेको छ, जसले आर्थिक मात्र होइन, मानसिक र सामाजिक असर समेत पारिरहेको छ।
रणनीति र सजगताको संयुक्त आवश्यकता :
नेपाल प्रहरीले अनलाइन ठगी नियन्त्रणका लागि अनुसन्धान क्षमता वृद्धि गर्दै एआई र मेसिन लर्निङ प्रविधिमार्फत फेक सामग्री पहिचान गर्ने रणनीति अपनाएको जनाएको छ। साथै, सरकारले साइबर अपराधविरुद्ध कडा कानुनी व्यवस्था ल्याउने तयारी गरिरहेको छ। डिजिटल साक्षरता अभिवृद्धि गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालनमा छन्। विज्ञहरू भन्छन्, प्रविधिको सुरक्षित प्रयोग, व्यक्तिगत सतर्कता र कानुनी सजगता नै अनलाइन ठगीविरुद्धको प्रभावकारी हतियार हो।



























