प्रहार समाचार । काठमाडौँ, १८ जेठ २०८२ आइतवार । आज देशका चार प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हो। साथै, बाँकी भूभागका एक/दुई स्थानहरूमा पनि हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेका छन् भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव सक्रिय रहेको विभागले जनाएको छ। यसका कारण बिहानदेखि नै देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ भने कोशी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको बताइएको छ। दिउँसो पनि पहाडी भेगमा बादल लाग्ने र अन्य स्थानमा आंशिक बदली रहने सम्भावना रहेको विभागको भनाइ छ।
रातिको समयको मौसम पूर्वानुमानअनुसार पनि कोशी, मधेश र पहाडी भेगका थोरै स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानहरूमा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


























