‘आजको समयमा अभिनेत्री मनिषा कोइरालालाई लिएर राजसंस्थाप्रति झुकेको भन्दै आलोचना गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। अचम्मको कुरा के छ भने, ती आलोचकहरूमध्ये धेरैजसो त्यही मानिस हुन्, जसले विगतमा उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल भएकी नेपाली कलाकारका रूपमा गौरवको पात्र मानेर प्रशंसा गर्थे।’ भन्दै यूवा नेता दिपकराज जोशी लेख्छन् –

आजको समयमा अभिनेत्री मनिषा कोइरालालाई लिएर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा एक खास प्रवृत्ति देखिन्छ। उनी राजसंस्थाप्रति झुकेको भन्दै आलोचना गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। अचम्मको कुरा के छ भने, ती आलोचकहरूमध्ये धेरैजसो त्यही मानिस हुन्, जसले विगतमा उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल भएकी नेपाली कलाकारका रूपमा गौरवको पात्र मानेर प्रशंसा गर्थे ।
तर अहिले, जब उनी खुलेर राजसंस्थाको पक्षमा बोल्छिन् र राजनीतिक रूपमा आफूलाई राजावादी धारमा उभ्याउँछिन्, उनीप्रति हेर्ने दृष्टिकोणमा चाँडै परिवर्तन आएको देखिन्छ। सामाजिक सञ्जालमा यो विरोधको लहर झन् तीव्र देखिन्छ, जहाँ समर्थनभन्दा आलोचना र व्यक्तिगत आक्षेपको मात्रा बढी छ। यस्ता प्रतिक्रियाले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको मूल मर्ममाथि नै प्रश्न उठाउँछन्।
लोकतन्त्रको सौन्दर्य भनेकै विचारको विविधता हो। प्रत्येक नागरिकलाई आफ्नो विचार राख्ने, समर्थन वा असहमति जनाउने अधिकार हुन्छ। कुनै व्यक्तिको विचार फरक छ भनेर उसलाई देशद्रोही ठान्नु, हेप्नु वा खलनायकको रूपमा प्रस्तुत गर्नु असहिष्णुताको परिचायक हो। हाम्रो समाजमा पुरानै एउटा प्रवृत्ति छ – जब कोही हामीसँग मेल खाने विचार राख्छ, उसलाई ‘राष्ट्रभक्त’ भन्छौं; तर उही व्यक्ति फरक धारणा व्यक्त गर्छ भने तुरुन्तै आरोप र गालीको पात्र बनाइन्छ। यस्तो सोच लोकतान्त्रिक संस्कृतिका लागि खतरनाक हो।
मनिषा कोइरालाले नेपालमै रहेर, यहाँका समस्यासँग प्रत्यक्ष जुध्दै आफ्नो धारणा राख्ने आँट देखाएकी छन्। अन्तर्राष्ट्रिय ख्याती कमाएपछि पनि उनले नेपाललाई रोजेकी छन्। सामाजिक र राजनीतिक विकृतिहरूको आलोचना गर्दै, परिवर्तनको पक्षमा उभिनु सजिलो कुरा होइन – त्यसमा आलोचना सहन सक्ने आँट चाहिन्छ। विचारसँग असहमत हुन सकिन्छ, तर उनको देशप्रतिको प्रतिबद्धता र योगदानको अनादर गर्नु अन्याय हो। हामीले असहमतिको सम्मान गर्न सक्ने संस्कार विकास गर्नु आजको लोकतान्त्रिक समाजका लागि अत्यावश्यक छ।



























