प्रहार समाचार । कास्की , १५ बैशाख २०८३ मंगलबार । प । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै समाज र लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएका दुई पत्रकारलाई कास्कीमा सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा स्थापना गरिएको ‘दयाशंकर पालिखे पत्रकारिता सम्मान’ यस वर्ष पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई प्रदान गर्ने निर्णय गरेको हो।

महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै बस्नेतलाई २०८१ साल र बराललाई २०८२ सालका लागि सम्मान गर्ने टुंगो लगाएको हो। उक्त सम्मान अन्तर्गत प्रत्येकलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ। सम्मान आगामी वैशाख २२ गते, दयाशंकर पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गरिने महासंघका सचिव भूपाल गुरुङले जानकारी दिए।
करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय सूर्यचन्द्र बस्नेत हाल राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्। उनले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकजस्ता सञ्चारमाध्यममा काम गर्दै पत्रकारितामा महत्वपूर्ण योगदान दिएका छन्। तनहुँको दमौलीमा जन्मिएका बस्नेतको पत्रकारिता यात्रा निरन्तरता र समर्पणको उदाहरण मानिन्छ।
त्यसैगरी, २०५५ सालदेखि पत्रकारितामा सक्रिय कृष्णमणि बरालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। पोखरा–७ नुवारथोकमा जन्मिएका बराल हाल बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकमसँग आवद्ध छन्। उनले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक र नेपाली टाइम्समा पनि योगदान दिएका छन्।
पत्रकारद्वयलाई पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको महासंघ कास्कीले जनाएको छ।

























