प्रहार समाचार । तनहुँ, १५ बैशाख २०८३ मंगलबार । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैलाई पतिशोक परेको छ । उनका पति चिजबहादुर दरैको आज असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मस्तिष्कघात भएपछि उपचारका लागि पोखरास्थित चरक अस्पताल लगिएका ५५ वर्षीय दरैको उपचारकै क्रममा मृत्यु भएको हो । आइतबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय दरै भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तथा नेपाल दरै उत्थान समाजका केन्द्रीय उपाध्यक्षका रूपमा सक्रिय थिए । सामाजिक सेवा र विकास निर्माणका क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको स्थानीयवासीले बताएका छन् ।
सरल, भद्र र मिलनसार स्वभावका दरै समाजमा लोकप्रिय व्यक्तित्वका रूपमा परिचित थिए । उनको निधनले भादगाउँ क्षेत्रसहित समग्र दरै समुदायमा शोक छाएको छ । मृतक दरैका दुई छोरा र श्रीमती रहेका छन् । पारिवारिक स्रोतका अनुसार मंगलबार दिउँसो चिकित्सकले मृत घोषणा गरेपछि अन्त्येष्टिका लागि शव पोखराबाट घर ल्याउने तयारी गरिएको छ ।

























