प्रहार समाचार । काठमाडौं, १५ बैशाख २०८३ मंगलबार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको समग्र आर्थिक अवस्थाको समीक्षा, उपलब्धि तथा आगामी चुनौती समेटिएको ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेका छन्।

सार्वजनिक दस्तावेजमार्फत विगत एक दशकमा नेपालको अर्थतन्त्रले हासिल गरेका मुख्य प्रगति र संरचनागत परिवर्तनलाई तथ्यांकसहित प्रस्तुत गरिएको छ।
अर्थमन्त्री वाग्लेले आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रको आकार २६ खर्ब ८० अर्ब रुपैयाँबाट बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। प्रतिव्यक्ति आय ८९९ अमेरिकी डलरबाट बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको उल्लेख गर्दै उनले अर्थतन्त्र विस्तारको सकारात्मक संकेत देखिएको बताए।
ऊर्जा क्षेत्रमा नेपालले उल्लेख्य फड्को मारेको तथ्यांकमा देखाइएको छ। एक दशकअघि ६९७ मेगावाट रहेको विद्युत उत्पादन बढेर ४ हजार १०५ मेगावाट पुगेको छ भने ९९ प्रतिशत जनसंख्यामा विद्युत पहुँच विस्तार भएको दाबी गरिएको छ। यसले औद्योगिक विकास र जनजीवन सहज बनाउन योगदान पुगेको सरकारको भनाइ छ।
पूर्वाधार विकासतर्फ कालोपत्रे सडक ११ हजार ७९८ किलोमिटरबाट बढेर २० हजार २०२ किलोमिटर पुगेको छ। यससँगै सेवा क्षेत्रको योगदान ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ, जसले नेपाली अर्थतन्त्र सेवामुखी बन्दै गएको संकेत गरेको छ।विदेशबाट प्राप्त हुने रेमिटेन्स ६ खर्ब ६५ अर्ब रुपैयाँबाट बढेर १७ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। यसले विदेशी मुद्रा सञ्चिति र उपभोग बजारमा सकारात्मक प्रभाव पारेको अर्थ मन्त्रालयको निष्कर्ष छ।
सामाजिक सूचकतर्फ साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुगेको उल्लेख गरिएको छ।अर्थमन्त्री वाग्लेले उपलब्धिहरूलाई संस्थागत गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी विस्तार तथा आर्थिक स्थायित्वलाई थप मजबुत बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए। उनले तथ्यांकले प्रगति देखाए पनि अर्थतन्त्रलाई दीगो, समावेशी र आत्मनिर्भर बनाउने चुनौती अझै बाँकी रहेको उल्लेख गरे।

























