प्रहार समाचार । तनहुँ, १५ बैशाख २०८३ मंगलबार । अपाङ्गता भएका व्यक्तिका लागि निर्माण गरिएका संरचनामाथि नै सवारी साधनहरुले अतिक्रमण गर्दा सड़क दुर्घटनाको जोखिम बढिरहेको सरोकारलाहरुले औल्याएका छन् ।

तनहुँको व्यास नगरपालिकामा आज आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ उदबोध भण्डारीले ह्विलचियर प्रयोगकर्ताका लागि बनाइएका खुला र्याम्पहरूमा मोटरसाइकल र स्कुटर छिराउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै यसले अपाङ्गता भएका व्यक्तिको आवागमनमा मात्रै होइन, समग्र सडक सुरक्षामा गम्भीर असर पारेको उल्लेख गरे । भण्डारीले ट्राफिक प्रहरीको प्रभावकारी निगरानी अभावले यस्तो लापरवाही मौलाउँदै गएको जिकिर गरे ।

कार्यक्रममा सहभागीहरूले सडक प्रयोगकर्तामा नियमबारेको अज्ञानता र लापरवाही नै दुर्घटनाको मुख्य कारण बन्दै गएको धारणा राखे। जेब्राक्रसको प्रयोग नगरी जथाभावी सडक पार गर्ने बानी, पैदलमार्गमै अवरोधका रूपमा रहेका बिजुलीका पोल तथा कमजोर संरचना व्यवस्थापनका कारण विशेषगरी दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरू थप जोखिममा परेको गुनासो पोखेका थिए । सहभागी ईश्वर बास्तोलाले पैदलमार्गमा रहेका पोलहरू हटाउन माग गरेपछि सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिइयो भने सीतादेवी कुँवरले र्याम्पहरूको गुणस्तर सुधार गर्न आग्रह गरिन्।

कार्यक्रममा सडक आयोजनाका अधिकारीहरूले अडियो टेक्सटायल जडान, जेब्राक्रस फराकिलो बनाउने तथा जोखिमयुक्त घुम्तीहरूमा सुरक्षा प्रबन्ध मजबुत बनाउने काम अघि बढिरहेको जानकारी दिएका छन्। नगर शिक्षा प्रमुख केदारराज आचार्यले विशेषगरी देउराली, मालेपहरा, कमलाबारी, घौसिकुवा लगायतका जोखिमपूर्ण क्षेत्रमा थप सावधानी अपनाउनुपर्नेमा जोड दिए । सडक पूर्वाधार निर्माणसँगै प्रयोगकर्ताको व्यवहार सुधार नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने निष्कर्षसहित यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।



























