प्रहार समाचार । सिन्धुपाल्चोक , १७ जेठ २०८२ शनिवार । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५, नवलपुर चोकस्थित एक होटलमा जुवा तास खेलिरहेका जुवाडेहरु पक्राउ परेका छन्।

प्राप्त समाचार अनुसार स्थानिय संकल्प होटल एण्ड भोजनालयको एक कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमध्ये होटल सञ्चालक राकेश बस्नेत चौतारा साँगाचोकगढी–६ का ४० वर्षीय स्थानीय हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास तीन बुक बरामद गरिएको छ। उनीहरू होटलको कोठाभित्र गोप्य रूपमा जुवा खेलिरहेका सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तत्काल नियन्त्रणमा लिएको हो। जुवा खेल्ने क्रममा फेला परेका सामग्रीसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको र जुवातास सम्बन्धी अन्य संलग्नताको पनि खोजी भइरहेको छ। प्रहरीले जुवा तथा सट्टेबाजीमा संलग्न व्यक्तिमाथि शून्य सहनशीलताको नीति अपनाउँदै आएको जनाएको छ।


























