प्रहार समाचार । काठमाडौं, १७ जेठ २०८२ शनिवार । राजधानीमा दिनहुँजसो भइरहेका प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज श बिहानदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्रहालय आसपासमा निषेधाज्ञा जारी गरेको हो। अब सो क्षेत्रमा पाँचजनाभन्दा बढी भेला हुन, नाराबाजी गर्न र प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल सिनेमाघरसम्म र महेन्द्र शालिकदेखि नारायणहिटीको दक्षिण गेटसम्मको क्षेत्र निषेधित क्षेत्र अन्तर्गत पर्नेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो।
राजावादी आन्दोलनका क्रममा शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा भएको र केही दिनअघि मात्र पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसर पुगेका घटनापछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पूर्वराजा शाह जेठ १९ गते पुनः नारायणहिटी जाने तयारीमा रहेको जनाइएको छ। यतिबेला राजसंस्था र हिन्दूराष्ट्र पक्षधर समूहको आन्दोलन राजधानी केन्द्रित भइरहेको छ।

यसै बिच राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज श फेसबुकमार्फत आन्दोलनलाई निरन्तरता दिने जनाउँदै निषेधाज्ञा बाबजुद पनि भोलिको प्रदर्शनलाई सफल पार्न व्यापक सहभागिताको आह्वान गरेका छन्। उनले लेखेका छन्, “भ्रष्ट व्यवस्था र शासकविरुद्ध सुरु भएको आन्दोलन भोलि पनि जारी रहनेछ। महेन्द्र शालिकबाट सुरु हुने प्रदर्शनमा सहभागी भई सफल पार्न अपिल गर्दछु।”


























