प्रहार समाचार । तनहुँ, १७ जेठ २०८१ शनिवार । दक्षिण एसियाकै कान्छो ग्रामीण सामुदायिक रेडियोको रूपमा चिनिएको ‘सामुदायिक रेडियो रिस्ती’ तनहुँले छिट्टै आफ्नो प्रसारण सुरु गर्ने भएको छ। व्यास नगरपालिका –८ स्थित रिस्ती विकास समाजले स्थापना गरेको उक्त रेडियोले हाल दैनिक १० घण्टा परीक्षण प्रसारण सुरु गरिसकेको छ भने चाँडै औपचारिक उद्घाटनसहित स्थायी कार्यक्रमहरूको घोषणा गर्ने तयारीमा छ।

रेडियोका अध्यक्ष नवीनराज पौडेलका अनुसार रेडियोले समाजवादी विचार, सामुदायिक सहभागिता र स्थानीय विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। उनले भने, “स्थानीय आवाजलाई बुलन्द गर्ने, बन, कृषि, सहकारी र समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकता दिँदै ग्रामीण जनताको सूचना पहुँचलाई विस्तार गर्ने हाम्रो लक्ष्य हो।”

रेडियो रिस्तीले ‘समाजवाद र सामुदायिक रेडियो’ शीर्षकमा परिसंवाद कार्यक्रम, ‘बन हाम्रो धन’, ‘सहकारी संवाद’, ‘गाउँको बोली’, ‘रखबरी’, र ‘कटुवाल’ जस्ता कार्यक्रममार्फत जनजीविकाका विविध पाटोलाई उजागर गर्नेछ। यी कार्यक्रमहरू स्थानीय समुदायका सहभागितामा निर्माण र प्रसारण हुने जनाइएको छ।

२०८२ जेठ १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पहिलोपटक इजाजत प्राप्त गरेको यस रेडियोले स्थानीय प्रसारण ऐनअनुसार व्यास नगरपालिकाबाट आधिकारिक प्रसारण अनुमति (लाईसेन्स) प्राप्त गर्नेछ।
यसअघि रिस्ती विकास समाजले सामाजिक अन्तरक्रिया, भित्तेपात्रो प्रकाशन, वातावरणीय सचेतना र महिला सशक्तिकरणजस्ता अभियानहरू सञ्चालन गर्दै आएको थियो। रेडियोको सुरुवातसँगै समाजले आफ्नो कामको दायरा थप फराकिलो बनाउने विश्वास लिएको छ।

९० मेगाहर्ज एफएम फ्रिक्वेन्सीमा सञ्चालन हुने रेडियो रिस्तीले तनहुँको ग्रामीण बस्तीहरूमा आधारित खबर, सूचना र जनचासोका कार्यक्रममार्फत सामुदायिक रेडियोको मर्म झल्काउने दाबी गरेको छ। स्थानीय तहसँग सहकार्य गर्दै समुदायमै सञ्चालित यो रेडियो ग्रामीण सञ्चारको सशक्त माध्यम बन्ने अपेक्षा गरिएको छ।

रेडियो रिस्ती आवाज विहिनहरुको आवज बन्दै ग्रामीण सञ्चारको सच्चा सारथी बनि लोकतन्त्रको सुदृढीकरणमा एउटा इट्टा थपोस्, प्रहार अनलाईन मिडियाको तर्फबाट शुभकामना ।


























