हेडलाईनसमाचारगण्डकी

लमजुङबाट पोखरा जाँदै गरेको बस दुर्घटना : १८ घाइते, एकको अवस्था गम्भीर

• विजय अधिकारी (प्रहार संवाददाता) १६ जेठ २०८२ शुक्रवार । लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस कास्कीको रुपा गाउँपालिका–१ पार्चेमा दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये लमजुङ, मध्यनेपाल नगरपालिका–७, रामबजारकी ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर रहेको छ। उनको दायाँ हात भाँचिएको छ भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार ग १ ख ४१०१ नम्बरको बस शुक्रबार बिहान करिब ११:१५ बजे ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि तत्काल उद्धारमा खटिएको प्रहरी टोलीले सबै घाइतेलाई पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाएको प्रहरी निरीक्षक याम अर्यालले जानकारी दिए।

घाइतेहरूमा अधिकांश रामबजारकै बासिन्दा रहेको जनाइएको छ। सामान्य घाइतेमा ६२ वर्षीया राधिका घिमिरे, ३७ वर्षीया शान्ति केसी, ५९ वर्षीया शोमा थापा, ५४ वर्षीया लक्ष्मीकुमारी गुरुङ, ४५ वर्षीया सरस्वती केसी, ८३ वर्षीया जमुनादेवी घिमिरे, ४२ वर्षीया सरिता घिमिरे, ५६ वर्षीया सावित्रा घिमिरे, ४२ वर्षीया रिता घिमिरे, ४१ वर्षीया पार्वती घिमिरे, ४८ वर्षीया सिजा थापा, ७५ वर्षीय चन्द्रबहादुर केसी, ७१ वर्षीय नेत्रबहादुर केसी, ३० वर्षीया लीला केसी, ६३ वर्षीय हरिकृष्ण घिमिरे, ४८ वर्षीया कमलादेवी घिमिरे र ५५ वर्षीया मैया कुँवर रहेका छन्।

दुर्घटनापछि बसका चालक ३४ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पनि सामान्य घाइते भएका छन्। बसका सहचालक तनहुँ, व्यास नगरपालिका–९ का १६ वर्षीय सन्देश गैरे सामान्य घाइते भएका छन् भने अस्पताल भर्ना भएका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button