• विजय अधिकारी ( प्रहार संवाददाता) काठमाडौं, १६ जेठ २०८२ शुक्रवार । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा प्रत्यक्ष वृद्धि नगरे पनि महँगी भत्ता तीन हजार रुपैयाँले बढाएको छ। हालको दुई हजार रुपैयाँ महँगी भत्ता साउनदेखि पाँच हजार पुगी तलबमा समायोजन हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै स्रोत व्यवस्थापनमा परेको दबाबका कारण तलब वृद्धि सम्भव नभएको जनाए।

महँगी भत्ताको यो वृद्धि सबै तहका स्थायी कर्मचारीहरूलाई समानरूपमा लागू हुनेछ। यद्यपि, यो सुविधा केवल बहाल रहेका कर्मचारीहरूका लागि मात्र सिमित हुनेछ। राज्यकोषबाट पेन्सन बुझिरहेका पेन्सनवालाहरू तथा करार सेवामा कार्यरत कर्मचारीहरूले भने यो वृद्धि नपाउने भएका छन्। यसले विशेषगरी तल्लो तहमा कार्यरत कर्मचारीहरूलाई केही राहत पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले अन्तिमपटक २०७९ सालमा १५ प्रतिशत तलब वृद्धि गरेको थियो। त्यसयता तीन वर्षसम्म तलब समायोजन नभएपछि यसपटक तलब वृद्धिको आशा गरिएका बेला सरकारले घुमाउरो बाटो अपनाउँदै भत्ता वृद्धि गर्ने निर्णय गरेको हो। कर्मचारी संघ–संस्थाहरूले तलब वृद्धिको माग राखे पनि स्रोतको सीमितता देखाउँदै सरकारले भत्ता बढाउने बाटो रोजेको हो।


























