प्रहार समाचार । तनहुँ, १६ जेठ २०८२ शुक्रवार । भानु नगरपालिका, तनहुँले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया प्रभावकारी बनाउन सरोकारवालासँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ।

नगर कार्यपालिकाको कार्यालय फुस्रेटारमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, पूर्व जनप्रतिनिधिहरू, विषयगत शाखा प्रमुख, शिक्षक प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले नीति निर्माण, बजेट विनियोजन तथा कार्यक्रमको प्राथमिकता निर्धारणका विषयमा आफ्ना धारणा, सुझाव र अनुभवहरू पेश गरेका थिए ।


कार्यक्रममा बोल्दै नगर प्रमुख आनन्दराज त्रिपाठीले सहभागितामूलक योजना निर्माण प्रक्रियामार्फत जनताको सुझावलाई प्राथमिकता दिइने बताए। उनले स्थानीय तहमा नीति तथा बजेट निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उल्लेख गर्दै जनउत्तरदायी र प्रभावकारी बजेट निर्माणका लागि यस्ता छलफलहरू महत्वपूर्ण हुने धारणा राखे।
भानु नगरपालिकाले छलफलमार्फत स्थानीय आवश्यकता र प्राथमिकता पहिचान गरी आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रयास गरिरहेको जनाएको छ। नगरपालिकाले यसलाई नीतिगत पारदर्शिता र सुशासनप्रति प्रतिबद्धताको रुपमा लिएको छ।


























