प्रहार समाचार । काठमाडौं, १५ जेठ २०८१ बिहीवार । गणतन्त्र दिवस–२०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। समारोहमा राष्ट्रिय गानसहित झण्डोत्तोलन गरिएको थियो भने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र स्थापनामा योगदान पुर्याउने अग्रजहरूको सङ्घर्ष, त्याग र बलिदानको स्मरण गरिएको थियो।

उक्त विशेष समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोह राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यता प्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा लिइएको छ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट “गणतन्त्र दिवस–२०८२” अंकित ब्यानर प्रदर्शनीसहित पुष्पवृष्टि गरियो। साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायद्वारा आकर्षक मार्चपास प्रस्तुत गरियो भने विविध सांस्कृतिक झाँकीमार्फत देशको विविधता र एकताको सन्देश व्यक्त गरिएको थियो।


























