हेडलाईनसमाचारगण्डकी

छोरीको नाममा बैङ्क खाता : लमजुङको सुन्दरबजार नपाको उदाहरणीय कार्य

• विजय अधिकारी ( प्रहार संवाददाता ) । लमजुङ, १५ जेठ २०८२ बिहीवार । लमजुङको सुन्दरबजार नगर पालिकाले छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीको नाममा बैँक खाता’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

२०७९ साउन १ गतेदेखि कार्यान्वयनमा आएको यस कार्यक्रमअन्तर्गत हालसम्म ९० जना नवजात छोरीहरूको नाममा नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा खाता खोलिएको छ। पालिकाले प्रत्येक छोरीको खातामा २ हजार रुपैयाँ जम्मा गर्दै आएको छ, जुन रकम छोरी १८ वर्ष पुगेपछि मात्र झिक्न मिल्ने व्यवस्था छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूको नाममा खाता खोल्न अभिभावकले नागरिकताको प्रतिलिपि, बालिकाको जन्मदर्ता प्रमाणपत्र र वडा कार्यालयको सिफारिस पेश गर्नु पर्दछ। त्यसपछि पालिकाले नगरस्तरमै खाता खोली आवश्यक रकम जम्मा गरिदिने प्रक्रिया अपनाइएको छ। चालु आर्थिक वर्षमा हालसम्म २० जना छोरीका लागि खाता खोलिएको छ भने अघिल्लो दुई वर्षमा क्रमशः ३५–३५ जना गरी हालसम्म कुल ९० जना बालिकाको नाममा खाता खोलिएको हो।

स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार चालु आर्थिक वर्षका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ४० हजार रुपैयाँ खर्च भइसकेको छ। कार्यक्रमको दायरा क्रमशः विस्तार हुँदै गएको र अभिभावकहरू यसमा सक्रिय रूपमा सहभागी हुन थालेको पनि उनले जानकारी दिए।

नगर प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार गर्भमा छोरी रहेको थाहा पाएपछि गरिने गर्भपतन, छोरीको जन्मदर्ता नगर्ने तथा कम उमेरमै विवाह गराउने जस्ता सामाजिक समस्याहरू न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी देखिएको छ। उनले थपे, “यस अभियानले छोरीप्रति सकारात्मक सोच विकास गराउनुका साथै उनीहरूको नाममा आर्थिक संचय गर्न अभिभावकलाई प्रेरित गरेको छ, जसले दीर्घकालीन सामाजिक परिवर्तनमा टेवा पुर्‍याउने विश्वास लिएका छौं।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button