‘बलिदान हुनेहरु इतिहासको पानामा जाज्वल्यमान भएर रहन्छन’
– बी.पी. कोइराला
आज शहीद सप्ताहको बिट मार्ने दिन हो । शहीदहरुले राजनीतिक पूँजी दिएर गए । अमरत्वको सङखनाद गरेर राष्ट्रका लागि आफूलाई न्योछाभर गरेर गए । रगत दिएर गए । जनतालाई आफ्नो पसिना देउ भनेर बलि वेदीमा चढेर गए । राजनीनिकर्मीलाई जिम्मेवारी दिएर गए । यस्तै धेरै सन्देश दिएर गए ।

व्यास नगरपालिका मोफसलमा शहीदप्रति नतमस्तक हुने पालिका हो । शहीदलाई न्याय दिने पालिका हो । राष्ट्रव्यापी सन्देश दिन सक्ने पालिका हो । संघीय प्रणालीमा गएसँगै यसले शहीद सप्ताहको रुपमा यो दिवस मनाउने गरेको छ । प्रत्येक माघ १६ गते मानुङकोटबाट शहीद गाउँ पुलिम ऱ्याङसम्म अल्ट्रा म्याराथन र व्यास गुफा देखि तनहुँसुर दरबारसम्म खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता गराउने एजेण्डा नै स्थापित गरेको छ । शहीदलाई न्याय र सम्मान दुवै गरेको छ । तर यसको अर्को पाटो पनि छ । कतिपय शहीद घोषणा हुनै बाँकी रहेछन् । पालिकालाई यो विषयले पिरोल्छ । त्यसकारण शहिदको प्रमाण संकलनमा ध्यान मन दिईरहेको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले यो काममा लाग्नेलाई सबै खाले सहयोग दिने गरेको छन् । आज यही मेसोमा शहीद चर्चा गरौं । ‘शहीद भनेर मात्र हुँदैन’, ‘घोषित हुनु पर्छ’ भनेर बैकुण्ठ न्यौपानेले डेढ बर्ष अगाडी यो पक्तिहरुलाई भनेको शतप्रतिशत याद छ । यही घटना पछि शहीद सुचिकरणमा सघाउन मन लाग्यो । दुई जना घोषित पनि भए । शहीदका पनाति–पनातिनीहरुलाई एस.ई.ई. दिने बेलामा घोषित भए ।
पहिलो पुस्ताले गर्ने काम तेस्रो पुस्ताले पनि बुढेसकालमा खोजिनिति गर्दैछन् । बन्दिपुर गोलीकाण्डका ६ मध्ये ४ जना धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ (बतास), उत्तर कुमार श्रेष्ठ, सन्त बहादुर राना तथा २०१८ मा पुलिमराङमा मारिएका भारत गुरुङका फाइलले धेरै दुख पाए । ठूलाबडाले राम्ररी बुझिदिएको भए ६ जना एकै पटक गृहको घोषणा पर्ने थिए । गुल्मी सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारीले नगरेको कामलाई गरेको भनेर सरुवा नभएको भए साउन मै फाइलहरु गृहमा पुग्थे । सहायक कर्मचारीहरुलाई एउटै काममा पटक पटक जिम्मेवारी आउदैनथ्यो । चासो राख्ने मान्छेको पनि चित्त बुझ्थ्यो । ति पाँच जनालाई राज्यले जे त गर्ला ।
वि.सं. २०१८ सालमा भरतपुर कब्जा गर्ने बहादुर योद्धाहरु पनि धेरै नै घोषणा हुन बाँकी छन्, भनिन्छ । लालध्वज गुरुङ, हस्तवीर गुरुङ, शमशेर बहादुर गुरुङ र बुद्ध सिह रानाको काम करिब करिब सकिएको छ । अब मात्र पालिकाको सिफारिस लिन बाँकी छ । नगर प्रमुख बैकुण्ठले गाडी समेत उपलब्ध गराईदिएर सर्जमिन–मुचुल्का लगायतका काम भरतपुर पुगेर सम्पन्न गरिएको छ ।
२०१८ सालैमा कोत्रेमा मारिएका योद्धाहरु मध्ये गोरखाका इमानसिंह गुरुङ र पुलिमराङका सर्वसिहं गुरुङको प्रमाण संकलन गर्दा सर्व सिंहको दहो प्रमाण नभेटिएकोले ईमान सिंहको मात्रै सबै कागजपत्र तयार छन् ।
सर्वसिंह गुरुङ कसरी राजनीतिक पीडित सहायता समिति २०५१ मा छुटे ? यसले टाउको दुखाएको छ र पनि प्रमाणको खोजी भईरहेको छ । यो महिना भरीमा उनको काम पनि सकिन्छ । दुःख साथ भन्नु पर्छ सहयोगीहरु बढाउन सकिएको छैन ।
अर्कोतर्फ मन्त्रीले चाहेर शहीद घोषणा हुने होइन रहेछ । प्रधानमन्त्री कै अग्रसरतामा गृहले आफ्नो प्रक्रिया शुरु गर्नु पर्ने रहेछ । नगरपालिका र नेतृत्वको गरेकै सहयोगबाट उर्जा दिएकै कारणले यति गतिविधिहरु भएका हुन् । तिनै गतिविधिले गृहमा एक खालको पहुंच बनेको छ । प्रमुख जिल्ला अधिकारी रहिसकेका छबि रिजाल त्यही छन् । पूर्व स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी मात्र नभएर उपसचिब दिल कुमार तामाङहरु जस्ता व्यक्तित्वहरुसँग काम गर्न नसकिने होइन । शहिद अमर हुन्छन्, तिनिहरु सधै बाँच्छन् तर गृहमै नपुगेका शहीद कसरी जाज्वल्यवान रहलान् । घोषणा मै छुटेका शहीदलाई न्याय कसरी र कहिले दिने ? यो मामिलाको जिम्मेवारी कस–कसले लिने ? के यो तिनकै परिवारलाई जिम्मा लगाउने ? परिवारै नहुको के गर्ने ?
तनहुँबाट शहिद हुनेहरु धेरै छन् । मर्न मार्न टाउकामा कात्रो ओढेर छाती थापेका त छुटेका छन् भने राजनीतिक कारणले हत्या भएकाहरुको गृहसँग अभिलेख कति पो होला र ?
व्यास नगरपालिकाले शहीदहरुको सम्मान र स्मरणमा केहि काम गर्न अभैm बाँकी छ । उसले तनहुँको दमौलीमा शहीदहरुलाई स्मरण गर्ने स्मारक बनाउन आवश्यक छ । त्यसका लागि शहीदको नाममा फराकिलो संस्था दर्ता गर्न आवश्यक छ । त्यस्तो फराकिलो संस्थाको आवश्यक छ कि, त्यो कुनै संस्थाको शाखाको रुपमा नचिनियोस् । त्यो संस्थाले तनहुँ र छिमेकी जिल्लाहरुको शहीदको खोजिनिति गर्न सकोस्, । धेरै शहीदहरु गुमनाम छन्, तिनको खोेजि गर्न वान्छनिय छ । आजका पिँढीहरुलाई शहीद चिनाउनु छ । नेपाली कांग्रेसलाई राजनीतिक पुँजीका लागि सहिदको ठूलो पक्ति छ । त्यसको खोजि गर्नु कांग्रेसको नेतृत्वको आजको प्रमुख कार्यभार हो । वीपीको आदर्श बोक्नेहरुले वीपीको आब्हानलाई आत्मसाथ गरेर इतिहासको पानामा जाज्याल्यमान गराएर शहीदलाई राख्ने हो भने कांग्रेसले कहिल्यै पनि कसैसँग पनि कुनै प्रकारको गठबन्धन गर्न जरुरी हुँदैन ।
(• खनाल सहिद सरोकार समाज तनहुँका अध्यक्ष हुन्)