प्रहार समाचार । काठमाडौं, ५ वैशाख २०८३ शनिबार । विश्वविद्यालय अनुदान आयोगको समन्वयमा उच्च शिक्षामा सुधार ल्याउने उद्देश्यले विभिन्न निर्णयहरू गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले समिति गठन गर्ने र १५ दिनभित्र सुधारिएको क्यालेन्डर पेश गर्ने निर्णय गरेको छ।यस्तै, विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनहरूको संरचना ६० दिनभित्र हटाउने र त्यसको सट्टा ९० दिनभित्र Student Council/Voice of Student स्थापना गर्ने निर्णय गरिएको छ।

राजनीतिक दलसम्बद्ध गतिविधि नियन्त्रण गर्न विश्वविद्यालय प्रशासनलाई कडाइका साथ निर्देशन दिइएको छ।निर्णयअनुसार अब विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय, कोठा, भवन वा जमिन उपलब्ध गराउने छैनन्। साथै, क्याम्पस परिसरभित्र देखिने ब्यानर, झण्डा, भित्ते लेखनजस्ता राजनीतिक संकेतहरू तत्काल हटाइनेछ।विश्वविद्यालय ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी कुनै कानुनी व्यवस्था भए त्यसलाई खारेज गर्न तीन महिनाभित्र प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गरिनेछ। साथै आवश्यक परे ६० दिनभित्र नियमावली संशोधन गरिने जनाइएको छ।हाल रहेका स्वतन्त्र विद्यार्थी युनियनलाई समेत परिमार्जन गरी विद्यार्थी अधिकारका लागि काम गर्ने Student Council प्रणाली विकास गरिनेछ।

सेवाग्राहीका गुनासा छिटो समाधान गर्न २४ सै घण्टा खुला रहने फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइनेछ। प्रत्येक विश्वविद्यालयमा गुनासो व्यवस्थापन प्रणाली अनिवार्य गरिने निर्णय गरिएको छ।विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्र मोबाइल एप वा इमेलमार्फत डाउनलोड गर्न सक्ने प्रणाली १५ दिनभित्र विकास गरिनेछ। साथै, परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन परिणाम प्रकाशनलाई पूर्वानुमानयोग्य बनाइने र नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था गरिनेछ। यी निर्णयहरूले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप घटाउँदै शैक्षिक वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।



























