प्रहार समाचार । तनहुँ२८ कात्तिक २०८१ बुधवार । तनहुँकोव्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच आज विशेष भेटवार्ता सम्पन्न भएको छ।

उक्त भेटमा दुबै पक्षबीच नगरको सरसफाई केन्द्र, हाल निर्माणाधीन माथिल्लो सेती तनहुँ जलविद्युत आयोजना, र तल्लो सेती तनहुँ जलविद्युत आयोजनाबारे गहन छलफल भयो।
काउन्सिलर टाकाहिरो तमुराले माथिल्लो सेती तनहुँ जलविद्युत आयोजनालाई सन् २०२७ सम्म सम्पन्न गर्ने विषयमा चासो गर्दै व्यक्त यसका लागि नगरपालिकाको सहयोगको अपेक्षा गरे । साथै उनले तल्लो सेती तनहुँ जलविद्युत आयोजनाको सन्दर्भमा भने, राम्रो अध्ययन गरी कागजात तयार भएमा जापानी सरकारको लगानीको सम्भावना सकारात्मक हुने कुरा व्यक्त गरे ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले आफूहरू सधैंभरि विकासका लागि सकारात्मक रहेको र समयमा नै तनहुँ जलविद्युत आयोजना सम्पन्न गर्न आफ्नो क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । नगर प्रमुख न्यौपानेले तल्लो सेती जलविद्युत आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सुरु गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई छिटो सञ्चालनमा ल्याउन टाकाहिरो तमुराको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

त्यसैगरी, तमुराले व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई सूक्ष्म वर्गीकरणको अस्थायी स्थानको निरीक्षणपछि यसको प्रभावकारी कार्यान्वयनको प्रशंसा गरे । उनले यसलाई स्थायी रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाको प्रयासलाई थप सुदृढ बनाउन सुझाव दिएका थिए ।


यो भेटले व्यास नगरपालिकाको विकास योजनाहरूमा जापानी सरकारको चासो र सम्भावित साझेदारीको संकेत गरेको नगर सचिवालयले जनाएको छ। यसले तनहुँमा ऊर्जा उत्पादन, सरसफाई, र वातावरणीय संरक्षण प्रयासहरूमा थप अवसर र प्रगतिको सम्भावना निम्त्याउने विश्वास नगरपालिकाले लिएको जनाएको छ।
























