हेडलाईनसमाचारप्रदेशमनोरञ्जनसूचना प्रविधि

आज  जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व  : देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रहार समाचार । तनहुँ ३ भदौ २०८१ सोमवार । आज  रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

तागाधारीहरूले यसैदिन आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बस्नुपर्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि तनहुँको पवित्र देवघाट धाम , दमौलीको शिव पाञ्चायन मन्दिर , व्यास ११ को मनकामना आश्रम लगायत पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button