साहित्यप्रदेश

कविता : बुबा अर्थात् बुढानिलकण्ठ र बालकोट

उता दुई बुढाहरू
यता दुई ठूलाहरू
उता दुई बुढाहरू
अझै ङ्यारङ्यार ङुरङुर गर्दैछन्
यो ङ्याङ्यार ङुरङुर सायद
आगामी नोभेम्बरमा अन्त्य होला
यता दुई ठूलाहरू
पहिले ङ्याङ्यार ङुरङुर गर्दै थिए
तर अकस्मात
एक मध्यरात
ङ्याङ्यार ङुरङुर अन्य गर्दै
सबैलाई चकित पार्दै
अहिले एक अर्कोका
गाला चाटाचाट
र अंकमाल गर्दैछन्
पहिले ङ्याङ्यार ङुरङुर
त्यो पनि ठीकै थियो
अहिले गाला चाटाचाट
त्यो पनि ठीकै छ
तर कुरो यति मात्र हो
यदि यस्तै गर्नु थियो भने
पहिल्यै गरेको भए हुन्थ्यो
त्यसो गरेको भए
भारेभुरे सबै बात हुन्थे
साना–साना पार्टीहरू
सबै पत्तासाफ हुन्थे
भन्नलाई त भनिँदैछ
यो सहमति स्थाइत्वका लागि
सुशासनका लागि
आर्थिक सुधार र विकासका लागि
तर यी सबै
भन्ने र सुन्नेका कुरा हुन्
किनकि
यथार्थतहः अन्ततहः
किस्सा कुर्सीकै हो
सहमति
अन्ततहः सत्ताकै लागि हो
कसैलाई प्रतिपक्षमा बस्नुको पीडा
कसैलाई कुर्सी नपाइने हो कि भन्ने भय
इतिहासले भन्छ
विगतमा बहुमत हुँदा पनि
राजनीतिक अस्थिरता देखिएकै हो
भ्रष्टाचारका अनेकौं कथाहरू लेखेकै हो
विचारो विधायिकामाथि निर्ममपूर्वक
कहिले गिर्जा अस्त्र,
कहिले खड्ग प्रहार गरिएकै हो
विचरो विधायिकालाई थला पारिएकै हो
त्यति मात्र होइन
यी बुबा (बूढानीलकण्ठ र बालकोट) चिनेकै बराजु हुन्
यी दुई ठूलाहरू
जनताले पटक–पटक जोखेकै तराजु हुन्
हेर्दाहेर्दै आँखा टट्टाएका
चाट्दा चाट्दा उल्टी हुने गरी अघाएका
जेठा र माइला दाजु हुन्
त्यो मध्यरात
यो मध्यरात
मध्यरातमा हुने रहेछ
… चलबलाहट
अनि हुने रहेछ घात प्रतिघात
त्यो मध्यरातमा
एउटा घर ढल्यो
यो मध्यरातमा
एउटा विश्वास जल्यो
तर आश्चर्य
मध्यरातमा दुई ठूलाहरूलाई दिव्यज्ञान कसरी आयो
मध्यरातमा घैटोमा घाम कसरी लाग्यो
कि बेचन झाको गिरफ्तारीले
बेचैन बनायो
तिनको बेचैनी बढायो
यस्तै ठूल्ठूला
शंका उपशंकाहरू
जनताले पालेका छन्
दुई ठूलाहरू प्रति
यस्तै प्रश्नहरू जनताले पालेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button