हेडलाईनसमाचारगण्डकी

लमजुङको पुवा भिर सडक निर्माण अन्तिम चरणमा, पूर्वमन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण

• विजय अधिकारी ( संवाददाता) लमजुङ, १३ मंसिर ३०८३ शनिबार । बेँसीसहर–घलेगाउँ सडकखण्डअन्तर्गतको पुवा भिर सडक निर्माण योजना अन्तिम चरणमा पुगेको छ। सडकको गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भेषबहादुर पौडेलले स्थलगत निरीक्षण गरेका छन्।

१० करोड रुपैयाँको बजेटमा सञ्चालित उक्त योजनाको निर्माण कार्य निर्धारित समयअगावै सम्पन्न हुने अवस्थामा पुगेपछि निरीक्षणका क्रममा पूर्वमन्त्री पौडेलले निर्माण कार्यले गति लिएको र समयअगावै सम्पन्न हुने अवस्था बनेकोप्रति खुसी व्यक्त गरे। उनले निर्माण व्यवसायी तथा काममा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै विकास निर्माणका योजनामा बजेट खर्च गर्नु मात्रै उपलब्धि नभई समयमै काम सम्पन्न गर्नु र गुणस्तर कायम राख्नु मुख्य विषय भएको बताए। सडक निर्माणमा लापरबाही र ढिलासुस्ती स्वीकार्य नहुने उनको भनाइ थियो।पुवा भिर सडक निर्माणका लागि बजेट विनियोजनमा पहल गरेको भन्दै स्थानीयले पौडेलप्रति आभार व्यक्त गरेका छन्।

गिरिप्रसाद गुरुङ र गणेश गुरुङको विशेष अग्रसरतामा पुवा गाउँबासी आमा–बाबा समूहले पौडेललाई फूलमालासहित आत्मीय स्वागत गरेका थिए। निरीक्षणमा पूर्वाधार विकास कार्यालयका परामर्शदाता इन्जिनियर राजेश अधिकारी, कांग्रेस नेता हरिप्रसाद बराल, बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष खुसीजङ्ग गुरुङ, इन्जिनियर दीपेन्द्र रावल, पत्रकार नवीन कुइँकेल र निर्माण व्यवसायी सुवास कार्कीलगायतको उपस्थिति थियो।

स्थानीयका लागि महत्वपूर्ण मानिएको यस सडक योजनाको निर्माण अन्तिम चरणमा पुग्नु सकारात्मक भए पनि अब यसको वास्तविक परीक्षा गुणस्तर र दिगोपनामा हुनेछ। निर्धारित समयअघि काम सकिएको प्रचारसँगै सडकको प्राविधिक गुणस्तर, निर्माण मापदण्ड र दीर्घकालीन उपयोगितामा समेत सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ। विकासको नाममा बजेट सक्ने होइन, जनताले वर्षौँसम्म लाभ लिन सक्ने पूर्वाधार निर्माण गर्नु नै वास्तविक उपलब्धि हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button