प्रहार समाचार । तनहुँ, १३ मंसिर २०८३ आइतबार । तनहुँको बृषिङ्ग गाउँपालिका द्वारा आयोजित आठौँ गाउँपालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा शुक्ला माध्यमिक विद्यालयले आफ्नो दबदबा कायम गरेको छ।

ऋषिङ–१ को झापुटार खेलमैदानमा भएको तीनदिने प्रतियोगितामा ८ स्वर्णसहित कुल १७ पदक जित्दै शुक्ला माविले प्रथम स्थान हासिल गरेको हो।शुक्ला माविले ८ स्वर्ण, ५ रजत र ४ कास्य जित्दा दीपक माध्यमिक विद्यालयले ७ स्वर्ण, ३ रजत र ५ कास्य गरी १५ पदकसहित दोस्रो स्थानमा चित्त बुझाएको छ। त्यस्तै, महेन्द्रदोय माध्यमिक विद्यालयले २ स्वर्ण, ७ रजत र २ कास्य गरी ११ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। पदक तालिकामा शीर्ष तीन स्थानका लागि विद्यालयबीच देखिएको प्रतिस्पर्धाले ऋषिङमा विद्यालयस्तरीय खेलकुदको सम्भावना र प्रतिस्पर्धात्मक क्षमता उजागर गरेको छ।

मंसिर १० देखि १२ गतेसम्म सञ्चालित प्रतियोगितामा ११ विद्यालयका ४५० भन्दा बढी छात्रछात्राले एथलेटिक्स र भलिबललगायतका खेल विधामा प्रतिस्पर्धा गरेका थिए। हाइजम्प, लङजम्प, त्रिपलजम्प, १००, २००, ४०० र ८०० मिटर दौड, १६०० मिटर रिले, सटफुट तथा ज्याभलिन थ्रोमा विद्यार्थीले आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए।

विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र उत्पादन गर्ने उद्देश्यसहित आयोजित विजयी विद्यालय तथा खेलाडीलाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापालगायतले शिल्ड, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे। पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको रुचि, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने बताए।

विद्यालयस्तरबाटै प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य प्रतियोगिताले राखेको कार्यक्रम सहजकर्ता सुवासचन्द्र रानाभाटले जानकारी दिए। तर, प्रतियोगिताको वास्तविक उपलब्धि पदक तालिकामा सीमित नभई पहिचान भएका प्रतिभालाई नियमित प्रशिक्षण, अवसर र प्रोत्साहनमार्फत अघि बढाउन सक्नुमा निर्भर रहनेछ।











