प्रहार समाचार । काठमाडौँ २१ असार २०८१ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जस्का कारण देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभावका कारण धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको महाशाखाले जनाएको हो ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति पनि कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेखले छ।
























