
व्यास नगरपालिकाका मेयरका प्रत्यासी यूवा नेता दिपक राज जोथीले व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पुन:मतगणना नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुले धाँधली भएको स्पष्ट हुने बताएका छन् । उनले सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै व्यास नगरपालिकाका सम्पूर्ण जनताहरुलाई सम्बोधन गर्दै लेखेका छन् – “व्यास नगरवासी सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनीहरू,
पूर्ण मतगणना भएपछि हार्ने निश्चित भएपछि आत्तिएर झुट र भ्रमको खेती गर्नेहरुबाट सतर्क रहनु होला । मतगणना हुँदा मेरो फ्रन्टलाइन अस्पतालमा उपचार हुँदै थियो। त्यसैले मतगणनामा हार्ने स्थिति देखिए पछि अन्त्यमा म मतगणना स्थलबाट बाहिर निस्केको भन्ने अभिव्यक्ति सरासर गलत हो। कपोलकल्पित र भ्रामक हो । यदि निष्पक्ष मतगणना भएको भए पुन मतगणना गर्दा पहिला आएको जति नै भोट आउँछ । त्यसकारण पुनः मतगणना गर्न डराउनुपर्ने कुनै कारण देखिँदैन।
यसबाट पनि प्रष्ट हुन्छ, पहिलोचोटी मतगणना गर्दा धाँधली भएको छ। उच्च अदालतले नै निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जोड्दा जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ । मतगणना नमिलेको प्रष्ट देखिएपछि पुनः मतगणना गर्नुपर्ने भनेर मुद्दा फैसला गरिसकेपछि पनि विपक्षीहरूले पुनः मतगणना गर्नु हुँदैन भनेर सर्वोच्चमा स्टे अर्डरको लागि निवेदन दिनु भनेको धाँधली भएको कुरालाई प्रष्ट पार्नु हो । तपाइँले तल राखिएको भिडियोमा ५ मिनेट २८ सेकेन्डपछि व्यास नगरपालिकामा जितेका सम्पूर्ण पदाधिकारीहरूको पदस्थापना कार्यक्रममा म स्वयं उपस्थित भई मेयर बाहेक सम्पूर्णलाई बधाई दिएको देख्न सक्नुहुन्छ।”
नेता जोशीले अन्त्यमा लेखेका छन्- “मैले उच्च अदालतमा मुद्दा परेको हुनाले मेयरलाई बधाई दिन असमर्थ छु,र अरु सबैलाई बधाई भनेको छु । बैकुण्ठ न्यौपाने आफैँ पनि पेशाले वरिष्ठ अधिवक्ता र नेपाली कांग्रेसमा लामो राजनीति गरेको व्यक्ति हुनुहुन्छ । उहाँ जस्तो जिम्मेवार व्यक्तिले आधार बिनाका कपोकल्पित कुराहरू गर्नु र समाजलाई भ्रममा पार्न खोज्नु भनेको आपतिजनक बिषय हो।”
























