प्रहार समाचार । तनहुँ, २४ असोज२०८३ शनिबार । पृथ्वी राजमार्ग अर्न्तरर्गत तनहुँको आँबुखैरेनीमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्दा बेपत्ता भएका चालक सम्पर्कमा आएका छन् ।

दुर्घटनापछि चालकको अवस्था अज्ञात रहेपछि खोजीमा जुटेको प्रहरीलाई उनी सुरक्षित रहेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रबार राति करिब ९:३० बजे मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०४१७ नम्बरको बियर बोकेको मिनी ट्रक आँबुखैरेनी गाउँपालिका–४, ठूलोढुङ्गास्थित पृथ्वी राजमार्गबाट अनियन्त्रित भई करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
दुर्घटनापछि चालक फेला नपरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटनापछि बेपत्ता भएका चालक सम्पर्कमा आएका छन् र उनी सुरक्षित छन् । यद्यपी चालकको नाम र उनको ठेगाना भने प्रहीले दिएको छैन । प्रहरीले ट्रक सडकबाट तल खस्दा चालकसमेत बेपत्ता भएपछि घटनाले थप चासो पैदा गरेको थियो । चालक सुरक्षित रहेको पुष्टि भएसँगै उनको खोजीबारेको अन्योल हटेको छ ।






















