हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

भुजेल भाषा र संस्कृति जोगाउन ‘ब्राओ आपुक रा’ चलचित्र दमौलीमा प्रदर्शन हुँदै

प्रहार समाचार । तनहुँ, २४ असोज २०८३ शनिबार । लोप हुने जोखिममा रहेका आदिवासी जनजातिका भाषा, संस्कार र संस्कृति संरक्षणको बहस भइरहेका बेला भुजेल समुदायको मौलिक पहिचान बोकेको चलचित्र ‘ ब्राओ आपुक रा’ (ठूल्दाइको नाङ्लो) दमौलीमा प्रदर्शन हुने भएको छ।

भुजेल भाषा, परम्परा, संस्कार र सामाजिक जीवनलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रको विशेष प्रदर्शनी असोज ३० गते व्यास नगरपालिका–दमौलीस्थित सभागृह हलमा आयोजना गर्न लागिएको हो। भाषा र संस्कृति भाषणले मात्र जोगिँदैनन्, तिनलाई व्यवहारमा उतार्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ भन्ने सन्देशसहित चलचित्र प्रदर्शन गर्न लागिएको हो।

भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा निर्माण गरिएको चलचित्रले भुजेल समुदायको मौलिक भाषा, सांस्कृतिक परम्परा, संस्कार र सामाजिक जीवनलाई चलचित्रको पर्दामार्फत अभिलेखबद्ध गर्दै नयाँ पुस्तामाझ परिचित गराउने लक्ष्य राखेको छ। आधुनिकताको प्रभावसँगै मौलिक भाषा र परम्परा ओझेलमा पर्ने चुनौती बढिरहेका बेला समुदायको पहिचान संरक्षणमा यस्ता सिर्जनात्मक प्रयासको महत्त्व छ। संस्कृति संरक्षणका नाममा औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नभई समुदायको जीवनशैली, भाषा र परम्परालाई दृश्य अभिलेखका रूपमा सुरक्षित गर्नु आवश्यक रहेको सन्दर्भमा चलचित्रको प्रदर्शनीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भुजेल समाज सेवा समिति तनहुँले चलचित्र प्रदर्शनीमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन विभिन्न क्षेत्रका व्यक्तित्व, सरोकारवाला तथा सर्वसाधारणलाई आग्रह गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले भुजेल समुदायको मौलिक पहिचानलाई व्यापक रूपमा चिनाउन तथा भाषा, संस्कार र संस्कृतिको संरक्षणमा सामूहिक चासो बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आफ्नो भाषा बिर्सने र संस्कृति छाड्ने पुस्ताले पहिचानसमेत गुमाउने खतरा रहन्छ; त्यसैले ‘ ब्राओ आपुक रा’ को प्रदर्शनी केवल चलचित्र देखाउने कार्यक्रम मात्र नभई भुजेल समुदायको मौलिक अस्तित्व र सांस्कृतिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयाससमेत हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button