हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरको निर्णय : विपद् निरीक्षण सात दिनभित्र, कार्यान्वयनको परीक्षाम

प्रहार समाचार । तनहुँ, २४ असोज २०८३ शनिबार । भारी वर्षा र अति भारी वर्षाका कारण व्यास नगरपालिकाका विभिन्न स्थानमा विपद्जन्य घटना घटेपछि नगरपालिकाले स्थलगत निरीक्षण गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

कार्यवाहक नगरप्रमुख इन्दिरा दरैको अध्यक्षतामा शुक्रबार सम्पन्न नगर कार्यपालिकाको २४८औँ नियमित बैठकले यस्तो निर्णय गरेको हो। तर, विपद्बाट प्रभावित नागरिकलाई राहत, क्षतिग्रस्त संरचनाको मर्मत तथा जोखिम न्यूनीकरणका लागि के-कस्ता ठोस कदम चालिने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट योजना सार्वजनिक गरिएको छैन। नगरपालिकाले सघन सहरी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ र सडक मर्मतसम्बन्धी कार्यविधि–२०८३ बैठकमा प्रस्तुत गरेको छ भने समता विद्यालय छात्रवृत्ति कोष सञ्चालन कार्यविधि–२०८३ पारित गरेको छ।

नागरिक लगानी कोष पोखराका कार्यालय प्रमुखसहितको टोलीले नागरिक पेन्सन योजनाबारे प्रस्तुतिकरणसमेत गरेको थियो। यद्यपि, सहरको पूर्वाधार विकास, सडकको अवस्था र वर्षाका कारण उत्पन्न समस्याबीच सडक मर्मतसम्बन्धी कार्यविधि प्रस्तुत हुनु सकारात्मक भए पनि त्यसको कार्यान्वयन, बजेट र समयसीमाबारे बैठकको विज्ञप्ति मौन छ। बैठकले गत असोज ८ गते सम्पन्न २४७औँ बैठकका निर्णय कार्यान्वयनको समीक्षा गर्नुका साथै विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना दिने निर्णय गरेको छ।

तर, नगरवासीका लागि चाडपर्वको शुभकामनासँगै विपद् व्यवस्थापन, सडक मर्मत र सहरी विकासमा देखिने गरी काम गर्नु नगरपालिकाको मुख्य जिम्मेवारी हो। निर्णय र कार्यविधि पारित हुनु मात्रै उपलब्धि होइन; नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउनु महत्त्वपूर्ण हो। अब विपद् व्यवस्थापन समितिले सात दिनभित्र कस्तो प्रतिवेदन बुझाउँछ र नगरपालिकाले त्यसका आधारमा कति छिटो काम अघि बढाउँछ भन्ने कुराले नगर नेतृत्वको कार्यक्षमता र जवाफदेहिताको वास्तविक परीक्षा गर्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button