हेडलाईनसमाचारबागमती

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता, २० लाखसम्मको ऋण मिनाहाको प्रतिबद्धता

प्रहार समाचार । काठमाडौं, २४ असोज २०८३ शनिबार । मेडिकल व्यावसायि एवं सामाजिक अभियान्ता दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको घोषणा गरिएको छ। पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ।

‘राष्ट्र निर्माणको नयाँ पथ’ भन्ने नारासहित अघि सारिएको पार्टीले २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहाको नीति सार्वजनिक गर्दै घर–घरमा समृद्धि र प्रत्येक परिवारमा खुसी ल्याउने दाबी गरेको छ।

तर, ऋण मिनाहाजस्तो आर्थिक रूपमा संवेदनशील प्रतिबद्धता कार्यान्वयन गर्ने आधार, स्रोत र प्रक्रियाबारे भने विस्तृत योजना सार्वजनिक हुन बाँकी छ। जनताको आर्थिक पीडालाई राजनीतिक मुद्दा बनाउँदै अघि बढेको पार्टीले आफ्ना नारालाई व्यवहारमा कसरी उतार्छ भन्ने प्रश्न अब उसको अगाडि उभिएको छ।

पार्टीले आफूलाई ‘नेपाल र नेपालीको पार्टी’ भन्दै सनातन संस्कृति, सभ्यता, राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। ‘परिवारसहितको घरको छानो’ चुनाव चिह्न प्रस्ताव गर्दै ‘सबल परिवार, समृद्ध समाज र समुन्नत राष्ट्र’ निर्माण गर्ने लक्ष्य अघि सारिएको छ। साथै, पृथ्वीनारायण शाहको राष्ट्रिय एकताको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै पूर्वराष्ट्रसेवक र बहालवाला राष्ट्रसेवकलाई राष्ट्रिय हितका लागि सहकार्य गर्न आह्वान गरिएको छ।

उद्योगी–व्यवसायी, श्रमिक, युवा र आम नागरिकलाई समेत एकताबद्ध हुन आग्रह गरेको पार्टीले आफ्नो राजनीतिक विचार, आर्थिक नीति र शासन सञ्चालनको स्पष्ट खाका सार्वजनिक गर्नुपर्ने चुनौती भने सामना गर्नुपर्नेछ।‘एक कदम परिवर्तनको, साथ नेपाल पथको’ नारासहित मैदानमा उत्रिन लागेको नयाँ दलले परम्परागत राजनीतिक शक्तिप्रतिको असन्तुष्टिलाई आफ्नो आधार बनाउन खोजेको देखिन्छ।

तर, राष्ट्रियता, सुशासन, विकास र समृद्धिका आकर्षक नाराले मात्र जनताको विश्वास जित्न सकिँदैन; त्यसका लागि स्पष्ट नीति, आर्थिक स्रोतको विश्वसनीय व्यवस्था, संस्थागत जवाफदेहिता र कार्यान्वयनयोग्य काकार्यक्रम आवश्यक पर्छन्।

विशेषगरी २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहाको प्रतिबद्धता कुन ऋणमा, कसका लागि, कुन स्रोतबाट र कस्तो कानुनी व्यवस्थाअन्तर्गत कार्यान्वयन गरिने हो भन्ने प्रश्नको जवाफले पार्टीको विश्वसनीयता निर्धारण गर्नेछ। दमकमा हुने औपचारिक घोषणाले नेपाल पथ पार्टीको राजनीतिक दिशा, संगठनात्मक संरचना र नीतिगत प्रतिबद्धताबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button