प्रहार समाचार । तनहुँ, २ असोज २०८३ शुक्रबार । जनस्वास्थ्यका सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै तनहुँको थर्पु आधारभूत अस्पताल जिल्ला प्रथम भएको छ। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका समग्र स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षामा विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा थर्पु आधारभूत अस्पतालले जिल्लाका अन्य स्वास्थ्य संस्थालाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवाको पहुँच, कार्यक्रम कार्यान्वयन तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न सूचकमा अस्पतालले गरेको कार्यसम्पादनलाई आधार बनाएर मूल्यांकन गरिएको जनाइएको छ। समीक्षाबाट उत्कृष्ट ठहरिएपछि अस्पताल व्यवस्थापन समिति, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले उपलब्धिप्रति खुसी व्यक्त गरेका छन्। अस्पताल परिवारले सफलताका लागि व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी र स्वयंसेविकाहरूप्रति धन्यवाद तथा बधाई ज्ञापन गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका समग्र स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले थर्पु आधारभूत अस्पताल र अस्पतालमा कार्यरत कर्मचारीलाई बधाई दिँदै सम्मानपत्र हस्तान्तरण गरे।
सो अवसरमा वाग्लेले स्वास्थ्य क्षेत्रका उपलब्धि केवल तथ्यांकमा सीमित नरही नागरिकले पाउने सेवाको गुणस्तर र प्रभावकारितासँग जोडिनुपर्ने उल्लेख गर्दै स्वास्थ्य संस्थाले हासिल गरेको उत्कृष्ट नतिजालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।अस्पतालले प्राप्त गरेको यो उपलब्धिलाई स्वास्थ्य सेवा सुधारका लागि गरिएको सामूहिक प्रयासको परिणामका रूपमा लिएको छ। आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारितालाई थप सुदृढ गर्दै उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिने अस्पताल परिवारले प्रतिबद्धता जनाएको छ।

















